वालिङ, २७ जेठ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले विज्ञ समिति गठन गरेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १४ को उपदफा (२) र (३) मा भएको व्यवस्था अनुसार नगरपालिकाले विज्ञ समिति गठन गरेको हो ।
विज्ञ समितिको संयोजकमा स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरतप्रसाद लम्साल मनोनित हुनुभएको छ विज्ञ समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान उपाध्यक्ष भवानी अधिकारी, लक्ष्मी स्मृति पुस्तकालय तथा सामुदायिक रेडियो स्याङ्जाका अध्यक्ष ध्रुवबन्धु पौडेल, स्याङ्जाका अग्रणी अगुवा कृषक बोधराज अर्याल र विद्यालय तथा सहकारीका सञ्चालक मनोज मल्ल मनोनित हुनुभएको हो ।
समितिले शिक्षा, स्वास्थ्य, कृषि तथा पशु विकास, सूचना प्रविधि, वन वातावरण, महिला, दलित, बालबालिका र जेष्ठ नागरिकका विषयमा नगरपालिलाई आफ्नो विज्ञता अनुसार नीति निर्माण, निर्णयमा राय, सरसल्लाह र सुझाब दिनसक्ने पुतलीबजार नगरपालिकाले जनाएको छ ।
विज्ञ समितिका संयोजक सहित सदस्यहरु स्वास्थ्य तथा शिक्षा, कृषि एवं वातावरण, मानव अधिकार, बैंक तथा वित्तिय संस्था, सञ्चार प्रतिष्ठान, सहकारी तथा निजी विद्यालय सञ्चालक, राजनैतिक दलमा आबद्ध रहेर सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरु हुन् ।
स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको सुविधा उपयोग गर्दै पुतलीबजार नगरपालिकाको हालै सम्पन्न कार्यपालिकाको बैठकले उनीहरुलाई विज्ञ समितिको संयोजक र सदस्यमा मनोनयन गरेको नगरपालिका प्रमुख (मेयर) तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।





