वालिङ, २६ जेठ ।
गरिमा विकास बैंक लिमिटेडले विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । वालिङ ६ मिर्दीमा गरिमाको शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वालिङ ६ फूलबारीमा रहेको गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

पोशाक वितरण कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका क्षेत्रीय प्रमुख लेखनाथ भट्टराईले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स–साना बालबालिकालाई पोशाक वितरण गरिएको बताउनुभयो । आगामी दिनमा पनि बंैकले आवश्यकता हेरी थप सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने धारणा उहाँले राख्नुभयो ।

कार्यक्रममा वडा नं ६ का वडा सदस्य नन्दुराज अर्यालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिकालागि सरोकारवालाहरु एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका शिक्षिका बीना शर्मा उपाध्यायले स्वागत गर्नुभएको उक्त कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खेमकान्त पौडेलको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक नरबहादुर पौडेलले सञ्चालन गर्नुभएको थियो ।

कक्षा ५ सम्म अध्ययनरत २५ जना विद्यार्थीलाई बैंकले ट्रयाकसुट तथा कापी कलम उपलब्ध गराएको बैंकका मिर्दी शाखा प्रमुख कमल रेग्मीले जानकारी दिनुभयो ।






