आरती कुँवर
वालिङ, १९ जेठ ।
स्याङ्जाका ११ पालिकामा सिर्जनात्मक लेखन प्रतियोगिता सकिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्लाका विभिन्न स्थानिय तहका बालबालिकाहरुका बीचमा सिर्जनात्मक लेखन प्रतियोगिताको आयोजना गरेको थियो । स्याङ्जाको पुतलिबजार नगरपालिकामा सोमबार प्रतियोगिता भएसंगै ११ वटै पालिकामा सम्पन्न भएको हो । कार्यालयले विद्यार्थीहरुलाई विभिन्न ३० विद्यामा विदाको समय सदुपयोगका लागि जिल्लाका सबै पालिकाका विद्याथीहरुलाई सिर्जनात्मक लेखन गृहकार्य दिएको थियो ।
पुतलिबजारमा भएको प्रतियोगितामा सरस्वती माविकी सृष्टि शर्मा प्रथम हुनुभएको छ । यस्तै शीतला माविकी अर्सिना कार्की द्धितिय, कालिका माविकी सृष्टिना अर्याल तृतिय र कोल्मा बराहचौर माविकी अग्रिता गुरुङ सान्त्वना हुनुभएको छ । यही जेठ २२ गते जिल्लास्तरीय रुपमा प्रतियोगिता गरिने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो । ११ पालिकाका प्रथम, द्धितिय र तृतिय भएका ३३ जना विद्यार्थीहरु जिल्लास्तरीय प्रतियोगितामा भाग लिने उहाँले बताउनुभयो । विरुवा गाउँपालिकाबाट गत वैशाख अन्तिमदेखि प्रतियोगिता सुरु भएको थियो ।





