आरती कुँवर
वालिङ, १८ जेठ ।
विश्वको प्रथम महिला शंकराचार्यलाई वालिङमा स्वागत गरिएको छ । पतञ्जली योग समिति नेपाल तथा महिला पतञ्जली योग समिति नेपाल स्याङ्जाले शंकराचार्य हिमानन्ध गिरी महाराजलाई शनिबार पतञ्जली योगपिठ वालिङमा स्वागत गरेको हो । नेपालको मोरङ जिल्लामा जन्मनुभएकी शंकाराचार्यलाई पोखराको कोटिहोमबाट पाल्पाको कार्यक्रममा जाने क्रममा उहाँलाई वालिङमा स्वागत गरिएको महिला पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य मैयादेवी लम्साल पौडेल सरिताले जानकारी दिनुभयो ।

शंकाराचार्यले १२ वर्ष सम्म महिला पतञ्जली योग समितिको केन्द्रिय अध्यक्ष भएर काम गर्नुभएको र अहिले विश्वको प्रथम महिला शंकाराचार्य हुनुभएको बताउदै उहाँलाई वालिङमा स्वागत गर्ने अवसर प्राप्त भएको सदस्य पौडेलले बताउनुभयो । शंकाराचार्य महाराजले पतञ्जली योगपिठमा शनिबार बास बसी आइतबार पाल्पा प्रस्थान गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
स्वागत कार्यक्रम पतञ्जली योग समितिका जिल्ला अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत तथा सञ्चालन महिला पतञ्जली योग समिति केन्द्रिय सदस्य पौडेलले गर्नुभएको थियो । कार्यक्रममा वालिङका प्रतिष्ठित व्यक्तिहरुको समेत सहभागिता थियो ।






