वालिङ, १५ जेठ ।
कृषक तथा कृषि उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंङ्कहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरेपछि बैंङ्कहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् । वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि एवम् कृषकहरुसँगको छलफल पछि बैंङ्कका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
वालिङमा भएको कार्यक्रममा गरिमा बिकास बैंङ्कका क्षेत्रीय प्रमुख लेखनाथ भट्टराईले सहज रुपमा कर्जा पाउने तरिकाका बारेमा कृषकहरुमा जानकारी कम रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ऋण बारेको जानकारी अभाव भएका कारण कृषकलाई कुरा बुझाउनै सकिएको छैन ।” वित्तीय साक्षरता दिनका लागि पालिकाहरुसँग सहकार्य गर्ने उहाँको भनाई छ । कृषि विकास व्याङ्क वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । बैंङ्कको कूल लगानीको २५ प्रतिशत कर्जा कृषिमा लगानी गरिदै आएको उहाँको भनाई छ ।
नेपाल बैंङ्क वालिङका प्रमुख दर्शना भट्टराईले ऋण एक शिर्षकमा लिने र खर्च अर्काे शिर्षकमा गर्ने क्रम बढेको बताउनु भयो । उहाँले भन्नुभयो,“ऋण लिएर कृषि कर्म गर्नहरुको लागि हामीले सहयोग गर्छौ ।”
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले कृषकहरुका लागि सहुलियत कर्जा प्रदान गर्न पालिकाले सहकार्य गर्ने जानकारी गराए । सस्तो व्याज दर र बिना धितो थोरै कर्जाले ठूलो काम हुने भएकाले बैंङ्कहरुले सहयोग गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
वालिङका उपप्रमुख तिवारीले एनएम्बी खेती कर्जा अन्तर्गत बिना धितो रु २ लाख सम्म कर्जा प्रवाह गर्न सुरु गरिएको जानकारी दिनुभयो । बिना धितो गाउँगाउँमा प्रवाह गरिने कर्जाले उत्पादन बढाउन सहयोग पुग्ने उहाँको भनाई छ ।
वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेका कृषि विकास परियोजनामा आवद्ध चार हजार ९९ कृषक परिवारलाई सहुलियत कर्जा प्रवाहका लागि छलफल गरिएको हेफर प्राजेक्ट नेपालका क्षेत्रीय प्रवन्धक प्रेम साम्वयुले जानकारी दिनु भयो । गाउँगाउँमा रहेका कृषकहरुलाई सहज रुपमा कृषि कर्जा उपलव्ध गराउने कार्यक्रमको योजना रहेको उहाँको भनाई छ ।
कार्यक्रममा वालिङमा रहेका व्याङ्कहरुले सहज तथा सहुलियत कर्जा प्रवाह र परिचालन गर्ने जानकारी गराएका छन् । वाणिज्य व्याङ्क वालिङका प्रमुख लिला गुरुङ, मुक्तिनाथ विकास बैंङ्कका प्रमुख नविन काफ्ले, लक्ष्मी बैंङ्कका प्रमुख मणिप्रसाद बस्याल, एनएम्बी खेती कर्जाका सुरज सुवेदी र सुरज गुरुङ, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डे, वित्तीय अधिकृत नगेन्द्र भट्ट लगायतले सहज तथा सहुलियत कर्जा प्रवाह र परिचालनका बारेमा जानकारी गराएका हुन् ।





