वालिङ, १५ जेठ ।
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणका लागी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विक्रिका लागी सहजीकरण गर्ने विषयमा बुधबार हस्ताक्षर भएको हो । सहकारीका अध्यक्ष ल्या. यामबहादुर गुरुङ र कम्पनीका बजार प्रतिनिधि सागर भण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सहकारीमा आवद्ध रहेका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरणमा सहजीकरण गरी सहकारीलाई कृषि श्रोत केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यले सहकारी र कम्पनीबीच सम्झौता भएको हो ।
सहकारीलाई आवश्यक पर्ने मल, बिउ, विषादी कृषि औजारहरु, प्रशोधनका सामाग्रीहरु र अन्य फार्म औजारहरु आवश्यक प्राविधिक सेवाहरु उपलब्ध गराउने, कृषि मुल्य शृंखलाका विभिन्न पक्षहरुको खोज तथा अनुसन्धान गरी एक स्थानीय संरचना एक कृषि परियोजना संचालनको लागी सहकारीसंग सहकार्य गर्ने, सहकारीमा आवद्ध कृषकहरुलाई कृषि उद्यमी परिचय पत्रको मापदण्डमा समावेश गर्नका लागी आवश्यक सहयोग गर्ने र परिचय पत्र वितरण गर्ने, बैंक तथा वित्तिय संस्थाबाट कृषि एवं व्यवसायको लागी कर्जा आवश्यक परेमा कृषकहरुलाई व्यवसायिक योजना बनाउन सहजीकरण गर्ने, कृषि सम्बन्धी उत्पादनका साधनहरु, प्रविधि र व्यवसायिक साक्षरताको लागी तालिम, गोष्ठी, अवलोकन भ्रमणहरु गराउने, विभिन्न प्रकारका विउबिजनका जातहरु, विषादीहरु र विभिन्न प्राविधिकहरुको अनुसन्धान परिक्षण उत्पादनको लागी सहकारीका सदस्यहरुलाई समावेश गरी सहजीकरण गर्नेलगायतका सहयोग कृषि कम्पनीले गर्नेछ ।
सहकारीले गड्यौले मल तथा रैथाने बाली संरक्षणमा अगाडि बढेको भन्दै यो सम्झौताले किसानहरुलाई थप अगाडि बढ्न मद्दत गर्ने तथा उत्पादित उपजहरुको बजारीकरणका लागी सहयोग गर्ने संस्थाका अध्यक्ष ल्या. यामबहादुर गुरुङले बताउनुभयो ।





