आरती कुँवर
वालिङ, ११ जेठ ।
वालिङ–हुवास सेतिबेनी सडकखण्डअन्तर्गत डुम्रेभञ्ज्याङ–हुवास खण्ड जेठ १९ गतेसम्म बन्द हुने भएको छ । उक्त सडकमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिने भएको हो । सडक विस्तारका क्रममा अग्लो र अफ्ठ्यारो भिरमा रक कटिङ गर्नुपर्ने भएकाले सो खण्ड बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।
सडक डिभिजनका सूचना अधिकारी ध्रुव पोख्रेलका अनुसार रातको समयमा ९ बजेदेखि बिहान ७ बजेसम्म सडक खुल्ने र दिउँसोको समयमा सडक बन्द गरि काम गरिने छ । उहाँले सवारी चालक र सर्वसाधारणलाई अर्को सुचना नआएसम्म वैकल्पिक मार्गको रुपमा डुम्रेभञ्ज्याङ–वानीडाँडा भूर्तेलथोक त्रिवेणी सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
गत चैत्रमा स्रोत सुनिश्चित भएपछि सडक डिभिजन कार्यालय पोखराले सडक निर्माणका लागि रु ४ करोडको लागत अनुमान गर्दै गुरूङ निरौला जेभी, पर्वतसँग २ करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो। निर्माण कार्य यही आर्थिक वर्ष ०८१÷८२ को असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने लक्ष्य रहेको छ । इन्जिनियर पोख्रेलका अनुसार सडक निर्माणमा ढिलाइ हुँदा समयमै काम सम्पन्न गर्न समस्या देखिएकाले सडक बन्द गर्ने निर्णय गरिएको हो ।





