आरती कुँवर
वालिङ, ६ जेठ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्ला भित्रका विभिन्न विद्यालयका अभिभावकहरुलाई अभिभावक शिक्षा दिने अभियान तथा कार्यक्रम अन्र्तगत आँधीखोला गाउँपालिकामा कार्यक्रम गरेको छ । कार्यालयले सोमबार आँधीखोला गाउँपालिका र सेपत सिरानचौर मावि सँगको समन्वय र साझेदारीमा वडा नं. ४को सेपत सिरानचौर माविका अभिभावकहरुलाई अभिभावक शिक्षा प्रदान गरिएको हो ।
कार्यक्रममा आँधीखोला गाउँपालिका उपाध्यक्ष सिता थापाले अभिभावकहरुलाई बालबालिकाको बहुआयमिक क्षेत्रको विकास गर्नको लागि अभिभावक शिक्षा कार्यक्रम अत्यन्तै महत्वपुर्ण र फलदायी साबित हुने बताउनुभयो । यस्तै गण्डकी प्रदेश शैक्षिक योजना महाशाखा प्रमुख तोयनाथ लम्सालले यस प्रकारको कार्यक्रमले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरसम्बन्धलाई थप मजबुत बनाउने बताउनुभयो ।


सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाको उमेर अनुसारको सर्वाङ्गिण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अभिभावक शिक्षा कार्यक्रमको राष्ट्रिय प्रशिक्षक तथा गण्डकी आवसिय माविकी शिक्षिका लक्ष्मी शर्माले विद्यार्थी, अभिभावक र शिक्षक अन्तरसम्बधका साथै अभिभाकको भुमिका लगायत बहुआयमिक विषयमा सहजिकरण गर्नुभएको थियो ।

यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निराजन लामिछानेले बालबालिकाको स्वास्थ्य, पोषण र सरसफाई, जनप्रदिप माविका प्रध्यानाध्यापक डिल बहादुर थापाले अभिभावकको भुमिका तथा बाल अधिकार सम्बन्धी र योग, ध्यान सम्बन्धमा प्रशिक्षक राधा अर्याल पौडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष सिंह बहादुर क्षेत्री गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी सापकोटा लगायतको उपस्थितमा सम्पन्न कार्यक्रमको अध्यक्षता सेपत सिरानचौर माविका विव्यास अध्यक्ष शिव कुमार शर्मा र सञ्चालन शिक्षक जीवन लामिछानेले गर्नुभएको थियो । सामाजिक विकास कार्यालयले अभिभावकहरुलाई परिवारमा स्वस्थ वातावरण सिर्जना गर्न, शिक्षाको महत्व बुझाउन, सामाजिक एकता र सहिष्णुता कायम गर्न, नकरात्मक क्रियाकलाप र सोचबाट टाढा राखी जीवनलाई सरल र सहज तरिकाबाट जिउन मद्धत पुग्ने विश्वास राखेको छ ।

कार्यालयले अभिभावकहरुलाई विभिन्न विधाहरु सकारात्मक सोच तथा व्यक्तित्व विकास बारे अधिकृत स्तरका कर्मचारी तथा मनोविज्ञबाट, बालबालिकाको स्वास्थ्य पोषण र सरसफाईबारे स्थानिय तहका जनस्वास्थ्य अधिकृत र बालरोग विशेषज्ञबाट, बालअधिकार र बालबालिका कानून सम्बन्धी शिक्षा अधिकृत तथा बालमनोविज्ञबाट, अभिभावक, शिक्षक र विद्यार्थी अन्तरसम्बन्धबारे विभिन्न शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका व्यक्तिहरुबाट एवम् योग तथा ध्यान सम्बन्धी जीवन विज्ञानका प्रशिक्षकहरुबाट विभिन्न सेसनहरुमा सैद्धान्तिक र व्यवहारिक ढंगबाट प्रशिक्षण गरिनेछ ।
कार्यालले पहिलो पटक शुरु गरेकोे कार्यक्रममा जिल्लाका स्थानिय तह र विद्यालयहरुको समन्वय र साझेदारीमा यस आर्थिक वर्षमा जिल्लाका विभिन्न केन्द्रमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।






