वालिङ, १७ वैशाख ।
स्याङ्जाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरु कक्षा ९ को परिक्षा दिएर कक्षा १० को एसईई परिक्षा राम्रो गर्न शैक्षिक सत्रको सुरुवातबाटै मिहेनत गरी अध्ययन गरी पढ्ने लक्ष्य राखेका थिए । तर उनीहरु अहिले कक्षा १० मा विद्यालय जान पाउनु त टाढाको कुरा गत वर्षको कक्षा ९ को नतिजा समेत अहिले सम्म पाउन सकेका छैनन् ।
मंगलबार स्याङ्जामा आयोजित एक कार्यक्रममा बालबालिकाहरुले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालयलाई सहज वातावरण भई आफूहरु कहिँलेबाट विद्यालय जान पाइन्छ भनेर प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारीले बालबालिका विद्यालय जाने वातावरण बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिकासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रममा बालबालिकाहरुले बालअधिकार लगायत विभिन्न विषयमा प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याललाई जिज्ञासा राखेका थिए ।
जिज्ञासाको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासनले कानूनले दिएको अधिकार प्रयोग गर्दै विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्नुको साथै बालबालिकाको बहुआयमिक क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बालबालिकाहरुले प्रमुख जिल्ला अधिकारीको बाल्यकाल देखी प्रमुख जिल्ला अधिकारी सम्मको यात्राबारे जानकारी लिइ आफूहरु पनि भविष्यमा प्रमुख जिल्ला अधिकारी हुन प्रेरणा प्राप्त भएकाले मिहेनत गरेर अध्ययन गर्ने बताएका छन् । अमोर सेवा बालगृह फेदीखोलाका बालबालिकाले माध्यमिक तहसम्म निशुल्क रुपमा बालगृहमा बसे पनि सो पश्चात् आफ्नो भविष्य सुनिश्चितताको लागि सिप, रोजगार सहित समाजमा सरल ढंगबाट बाच्न राज्यले विशेष व्यवस्था गर्नको लागि अनुरोध गरेका छन् । जिल्ला बाल सञ्जाल स्याङ्जाका अध्यक्ष सुजता पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्थानिय तहबाट बाल सञ्जालमा आबद्ध बालबालिकाहरुले आफ्नो जिज्ञासा राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला बाल सञ्जाल सदस्य कुसुम रेग्मीले गनुभएको थियो ।