आरती कुँवर
वालिङ, १४ वैशाख ।
देशव्यापी शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रका पठनपाठन सुरु हुन सकेको छैन् । देशभरका शिक्षक अन्दोलनमा रहदा आन्दोलनको असर स्याङ्जाका सामुदायिक विद्यालयमा समेत परेको हो । निजि विद्यालयले वैशाख ४ गते देखि नै पठनपाठन शुरु गरेको भएपनि सामुदायिक विद्यालयमा पठनपाठन शुरु हुन नसकेको अवस्थामा स्याङ्जाको पुतलीबजार नगरपालिकाले समेत विद्यालयमा पठनपाठन शुरु गर्न आग्रह गरेको छ ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको काठमाण्डाँै केन्द्रित आन्दोलनमा नेपाल सरकार समक्ष राखिएका जायज माग तथा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्ने सम्बन्धमा नगरको ऐक्यवद्धता रहेको भन्दै पठनपाठन शुरु गर्न विद्यालयहरुलाई आग्रह गरेको हो । नयाँ शैक्षिक सत्रको शुरुवातसंगै नियमित पठनपाठन शुरु हुन नसक्दा विद्यार्थी, अभिभावक तथा समाजमा नै दिर्घकालिन रुपमा नकरात्मक असर पर्नेमा नगरपालिकाले चिन्ता व्यक्त गरेको छ ।
नगरपालिकाले आईतबार एक सुचना जारी गर्दै बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकार को सुनिश्चिताका लागि १४ गते बसेको नगर शिक्षा समितिको बैठक अनुसार भोलि १५ गते सोमबारबाट विद्यालय खोल्न भनेको छ । शैक्षिक सत्र २०८२को भर्ना, पाठ्यपुस्तक वितरण र शैक्षिक तथा प्रशासनिक कार्यहरु अनिवार्य रुपमा सञ्चालन गरी विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न अनुरोध गरेको हो । यस्तै स्याङ्जाका ३ पालिका विरुवा, हरिनास गाउँपालिका र गल्याङ नगरपालिकाले समेत यसअघि पठनपाठन सुचारु गर्न विद्यालयहरुलाई आग्रह गरेका थिए ।