आरती कुँवर
वालिङ, २५ चैत ।
झण्डै डेढ सय पहिले देखि चल्दै आएको ऐतिहासिक बाह्रबिसे बजार (मेला) को उल्लेख्य दर्शकले अवलोकन गरेका छन् । स्याङ्जाको वालिङ हुँदै बहेको आँधीखोला किनार तथा बाँयखोलाको अन्तिम पुच्छार भागमा पुरानो संस्कार र परम्परा बोकेको बाह्रबिसे बजार रामनवमीका दिन भएको बजारमा उल्लेख्य दर्शक पुगेका हुन । कोभिडका कारण बन्द जस्तै अवस्थामा पुगेको बाह्रबिसे बजारलाई पुनरुत्थान तथा संरक्षण गर्नका लागि त्यहाँका स्थानिय युवाहरुको सक्रियतामा मेलाको स्वरुप दिएर सञ्चालन गरिएको हो ।
वालिङ नगरपालिका वडा नं. ९ र १३ को संगमस्थल भट्टेचौर आँधीखोला किनारमा एकदिने रामनवमी मेला तथा ऐतिहासिक बाह्रबिसे मेलाको उद्दघाटन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांणले बाह्रबिसे मेलाले सबैलाई बालापनको स्मरण गराएको भन्दै स्थानीय स्तरमा गरिने यस्ता मेलाहरुमा यहाँका उत्पादनहरुले बजार पाउने बताउनुभयो ।
स्थानीय उत्पादनको बजारीकरण तथा धार्मिक तथा सांस्कृतिक महत्व जोडिएको बाह्रबिसे बजारलाई निरन्तरता दिनका लागी युवाहरुले देखाएको जागरुकता निकै सराहनीय रहेको बताउनुभयो । पहिचान र संस्कृतिसंग जोडिएका यस्ता मेलाको प्रर्वद्धनका लागी सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
बाह्रबिसे बजार व्यवस्थापन समितिका अध्यक्ष अर्जुन गौतमले बाल्यकालमा साथिहरु संग केहि रुपैयाँ लिएर बाह्रबिसे बजार हेर्नका लागि निकै टाढा देखि आउने पुरानो समयको स्मरण गर्दै यस्ता ऐतिहासिक बजारलाई संर्वद्धन गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । पुरानो परम्परासंगै केहि नयाँपन दिएर मेलाको आयोजना गरिएको बताउँदै उहाँले ऐतिहासिक बाह्रबिसे बजार साच्चिकै ऐतिहासिक बनेको दावि गर्नुभयो । लामो समय पछि आयोजना गरिएको बजार उल्लेख्य दर्शक अवलोकन गर्नका लागि आउँदा मेला ऐतिहासिक बनेको बताउनुभयो ।
बाह्रबिसे मेला प्राचीन समयदेखि निरन्तर लाग्दै आएको सांस्कृतिक तथा धार्मिक पर्व हो । यस मेलाले धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, परम्परा, र आर्थिक गतिविधिलाई पनि प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मेलामा माटोबाट निर्मित भाँडाकुँडा, परम्परागत हस्तकलाका सामग्री, उखु र गुड जस्ता स्थानीय उत्पादनहरूको बिक्री वितरण र प्रदर्शन गरिएको थियो भने बाँसको लिंगोको टुप्पामा राखिएको भाले छुने कार्यक्रममा युवाहरु निकै आर्कषित भएका थिए ।
मेलामा स्थानीयले उत्पादन गरेका आलुका परिकारहरु, सेल रोटी, बट्टाका अचारको समेत समेत विक्रि गरिएको थियो भने राष्ट्रिय कलाकारको समेत प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । मेलामा राष्ट्रिय कलाकारहरु श्याम राना, नेत्र खडका, सुनिता नेपाली, राजेश भण्डारी, जगत गौडेलको सांगीतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा वडा प्रहरी कार्यालयका डिएसपि वसन्त पाठक, नेपाली कांगे्रसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, एमालेका वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रम अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव ओमप्रकाश गैह्रे र स्वागत कोषाध्यक्ष शिवलाल गैह्रेले गर्नुभएको थियो ।