एसईई परीक्षा आजदेखि शुरु, स्याङ्जाबाट चार हजार बढी विद्यार्थी सहभागी हुने

0
195
Google search engine

वालिङ, ७ चैत ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
यसैबीच यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट चार हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । आजदेखि सञ्चालन हुने एसईई परीक्षामा यहाँका चार हजार ९९२ विद्यार्थी सहभागी हुने भएका हुन् । नियमिततर्फ तीन हजार ७३२ र ग्रेडवृद्धितर्फ एक हजार २६० जना गरि कुल चार हजार ९९२ जना विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले जनाएको छ ।
स्याङ्जाबाट १३७ सामुदायिक विद्यालय जसमा ६ प्राविधिक, ३ धार्मिक र ३५ संस्थागत विद्यालय गरी १७२ विद्यालयका दुई हजार ४२३ छात्रा र दुई हजार ५६९ छात्र परीक्षामा सहभागी हुने समन्वय इकाइ प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । यस वर्षको परीक्षाका लागि स्याङ्जामा २५ वटा परीक्षा केन्द्र तोकिएको समन्वय इकाइ प्रमुख विश्वराज आचार्यले बताउनुभयो । उहांले अर्जुनचौपारी, आँधीखोला, फेदीखोला, बिरुवा र हरिनास गाउँपालिकामा एक÷एक वटा गरी पाँचवटा केन्द्र रहने बताउनुभयो ।
उहाँका अनुसार कालीगण्डकी गाउँपालिका र गल्याङ, चापाकोट र भीरकोट नगरपालिकामा दुई÷दुई वटा गरी आठवटा केन्द्र रहनेछन् । यस्तै, पुतलीबजार नगरपालिकामा पाँचवटा र वालिङ् नगरपालिकामा सातवटा परीक्षा केन्द्र रहने समन्वय इकाइ प्रमुख आचार्यले बताउनुभयो । यस पटकको एसईई परीक्षामा २५ केन्द्राध्यक्ष, ४५ सहायक केन्द्राध्यक्ष, २६५ निरीक्षक, परीक्षा सहायक ६२ जना, सहयोगी ११० र सुरक्षाकर्मी ३७५ जना गरी कुल ८८२ जनाको जनशक्ति रहने शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले जनाएको छ ।
परीक्षाको तयारीकै क्रममा समन्वय इकाइ स्याङ्जाले एसईई परीक्षाका केन्द्राध्यक्षहरुलाई सोमबार अभिमुखीकरण तालिम समेत दिएको छ । यस वर्षको एसईई आजदेखि सुरू भएर १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषय, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।
भोली अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्ल यजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।

Google search engine
Google search engine