वालिङ, १२ फागुन ।
सामाजिक विकास कार्यालय स्याङ्जाले चापाकोट नगरपालिका वडा नं ६ मा रहेको राधा दामोदर आरोग्य आश्रममै पुगेर त्यहाँ रहनुभएका जेष्ठ नागरिकहरुको लागि रु ३ लाख अनुदान उपलब्ध गराउने भएको हो । सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल र आश्रमका अध्यक्ष रामचन्द्र सिग्देलले अनुदान उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले जेष्ठ नागरिकहरुलाई सहज, मर्यादित तथा सम्मानपूर्ण रुपमा जीवनयापन गर्नमा सहयोग गरी उहाँहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि जेष्ठ नागरिक आश्रमलाई संचालन अनुदान उपलब्ध गरार्इएको बताउनुभयो ।
चापाकोट नगरपालिका वडा नं ६ को वडा अध्यक्ष तारा पोख्रेलले स्थानीय तहको सरकारले माथिल्लो तहका सरकारसँगको सहकार्यमा यस्ता सामाजिक काम गर्न तयार रहेको र स्याङ्जा सदरमुकाम देखी टाढा रहेको जेष्ठ नागरिक आश्रममै आएर सम्झौता गर्नु कार्यालयको अनुकरणीय कार्य रहेको बताउनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालयका लेखा अधिकृत मित्रबन्धु पौडेल र आश्रमको तर्फबाट विभिन्न वक्ताहरुले जेष्ठ नागरिक देशका अमूल्य सम्पति रहेको र उहाँहरुको सामाजिक सुरक्षाको साथ संरक्षण गर्दै ज्ञान, सीप र अनुभवलाई सबैले अनुशरण गर्नुपर्ने कुरामा जोड दिनुभयो । अनुदान रकम जेष्ठ नागरिकको खाद्यान्न, औषधोपचार, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामाग्रीहरुमा खर्च गरिने छ । हाल उक्त आश्रममा २२ जना जेष्ठ नागरिक बस्दै आउनु भएको छ ।