वालिङ, १३ फागुन ।
पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जाको प्रसिद्ध मन्दिर आलमदेवीको दर्शन तथा पूजाआजाको लागी मन्दिरतर्फ प्रस्थान गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ लसर्घामा अवस्थित शाह बंशको कुल देवताकोरुपमा स्थापित आलमदेवी मन्दिरको दर्शन गर्नकालागि पूर्व राजा शाह सोमबार साँझ स्याङ्जा आउनुभएको थियो ।
सडक मार्ग हुँदै सोमबार साँझ स्याङ्जाको वालिङ आईपुग्नुभएका शाह वालिङस्थित होटल भेनसमा बास बस्नुभएको हो । पूर्व राजा शाहले वालिङबाट झण्डै ५० किलोमिटर दूरी यात्रा गरी मन्दिर पुग्ने र दर्शन गर्ने कार्यक्रम रहेको बीर गोर्खाली अभियान्ता बसन्तबिक्रम पाण्डेले जानकारी दिनुभयो ।
आज मन्दिर दर्शन गरे पश्चात पोखरा फिर्ता हुने बताईएको छ । आँफैले सवारी साधन हाँकेर स्याङ्जा आईपुग्नुभएका पूर्व राजा शाहलाई ठाउँ ठाउँमा स्वतःफूर्तरुपमा उपस्थित भएका सर्वसाधारणले फूलमालाले स्वागत तथा अभिनन्दन गरेका थिए । आलमदेवी मन्दिरमा दर्शन गर्नकालागि शाह छोरीसहित आउनुभएको हो । फागुन सात गते प्रजातन्त्र दिवसको दिनको सम्बोधनबाट राजाको थप सक्रियता बढेको दावी अभियान्ता पाण्डेले गर्नुभयो । सक्रियतासँगै थप शक्ति प्राप्तिकालागि कुल देवताको मन्दिरमा पूजाआजा गरी आशिर्वाद लिने कार्यक्रम रहेको उहाँले बताउनुभयो