वालिङ, १५ माघ ।
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा मंगलबार वालिङमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुँदै वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख एवम् गरिमा विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले विषादीरहित उत्पादनसँगै रैथाने बालीको संरक्षणमा सहकारीले काम गर्दै आएको बताउनुभयो । उहाँले विषादीयुक्त उत्पादनको प्रयोगले उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले सहकारीले अर्गानिक गड्यौले मलको ब्यावसायिक उत्पादन र रैथाने बालीको संरक्षणमा जोड दिएको बताउनुभयो । “यो सहकारी पैसा बाँड्ने होईन, यसले नयाँ नयाँ ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्ने, किसानलाई प्रोत्साहन गर्ने, किसानका हितमा काम गर्ने हो” उहाँले भन्नुभयो, “विषादीरहित अर्गानिक खेती प्रणालीमा जोड दिने, रैथाने बालीका बीउहरुको संरक्षण गर्ने, गड्यौले मलको ब्यावसायिक उत्पादन गर्ने उद्देश्य रहेको छ ।” साधारणसभामा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, सल्लाहकारहरु ढाकाराम पंगेनी, देवकुमारी श्रेष्ठ, शेयर सदस्य हुमनाथ लामिछाने लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष ले. यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भुपराज बगालेले र स्वागत सञ्चालक समिति सदस्य भोजराज गुरुङले गर्नुभएको थियो । २०७७ साल असोजमा वालिङ नगरपालिकामा दर्ता भएको संस्था २०७७ माघ १५ गतेका दिनबाट विधिवतरुपमा कार्य शुभारम्भ गरेकाले नगरपालिका कार्यालयबाट पूर्व स्वीकृति लिएर आज साधारणसभा गरेको संस्थाले जनाएको छ । वलिङ नगरभित्र अवस्थित विभिन्न उत्पादमूखी कृषि सहकारी संस्था, उद्यमी सहकारी, कृषक समूह सबैलाई समेटेर वास्तविक उत्पादक र वास्तविक उपभोक्ताकोबीचमा मध्यस्थता गरी सानादेखि ठूला ब्यावसायिक कृषि, हस्तकला तथा घरेलु उद्यमको वित्तीय क्षेत्रमा पहुँच अभिवृद्धि गराउने उद्देश्यसहित संस्था स्थापना भएको हो ।