वालिङ, १२ माघ ।
स्याङ्जाको वालिङ १० भकुण्डेमा रहेको नवजागरण संस्थाले गरिमा विकास बैंकका सञ्चालकहरुलाई शनिबार सम्मान गरेको छ । नवजागरण पार्कमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा गरिमा विकास बैंकको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएका दिलीपप्रताप खाँण, सदस्य शोभाकान्त ढकाल र सदस्य आयुष्मा कोईरालालाई सम्मान गरेको हो ।
नवजागरण संस्थाले संस्थाका सल्लाहकार एवम् वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख खाँण, संस्थाका शुभेच्छुकहरु ढकाल र कोईरालालाई सम्मान पत्रद्वारा सम्मान गरेको हो ।
सम्मान तथा बधाई कार्यक्रममा संस्थाका सल्लाहकार एवम् गरिमा विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले गरिमा विकास बैंक विकास बैंकहरुमा एक नम्बरको बैंक हुन सफल भएको बताउँदै आगामी दिनमा पनि अझै प्रगतितर्फ अगाडि लम्कने दावी गर्नुभयो । उहाँले बैंकका भावी योजनाहरुबारेमा बताउँदै सबैको साथ र सहयोगबाट नै अगाडि बढ्न र राखेका लक्ष्य र उद्देश्यहरु पूरा गर्न सकिने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद एवम् संस्थाका सल्लाहकार भागवतप्रकाश मल्लले गरिमाको उचाईलाई अझै गरिमामय बनाउन अहिलेको सञ्चालक समिति सशक्त रहेको दावी गर्दै कार्य सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका शुभेच्छुक तथा गरिमा विकास बैंकका सञ्चालक समिति सदस्य शोभाकान्त ढकाल, आयुष्मा कोईराला, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । नवजागरण संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कविता भुसालले र सञ्चालन हिमलाल पंगेनीले गर्नुभएको थियो ।