वालिङ, १२ कात्तिक ।
चाडपर्वलाई लक्षित गरी सोमबार स्याङ्जाको वालिङ बजारको अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, वालिङ नगरपालिका, वालिङ उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, वडा प्रहरी कार्यालय, पत्रकार लगायतको टोलीले वालिङ बजार अनुगमन गरेको हो । चाडपर्वका बेला उद्योगी ब्यापारी तथा उपभोक्तालाई सचेत बनाउनकालागि अनुगमन गरिएको अनुगमन टोलीका संयोजक पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो ।
अनुगमन टोलीले वालिङ बजार, भकुण्डे, भुम्रे, तल्लो वालिङ लगायतका ठाउँमा रहेका विशेष गरी मासु पसल, मिठाई पसल र केही होटलहरुको अनुगमन गरेको हो । विशेष गरी चाडपर्वका बेला मासुको स्वच्छता, बधस्थलको सरसफाई, खानेकुराहरुमा अखाद्य रंगरोगनको मिसावट, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक मुल्य वृद्धि गर्ने, मिसावट गर्ने, मिति गुज्रिएका सामनहरु बिक्री गर्ने जस्ता क्रियाकलाप हुन सक्ने भएकाले यसको सचेतनाकालागि अनुगमन गरिएको उहाँले बताउनुभयो ।
अनुगमनकाक्रममा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्न र आगामी दिनमा दोहोरिन नदिन र दोहोरिएमा कानून बमोजिम जरिवाना गर्ने चेतावनी दिएको हो । अनुगमनकाक्रममा भेटिएका मिति गुज्रिएका सामनहरु नष्ट गरिएको थियो । उपभोक्ताले देख्ने ठाउँमा मुल्य सूचि राख्न, उत्पादन मिति, सकिने मिति, मुल्य, उत्पादकको नाम उल्लेख भएका सामग्रीमात्रै खरिद बिक्री गर्न आग्रह गरेको छ । अनुगमनकाक्रममा ब्यापारीहरुमा देखिएको नवीकरणसम्बन्धीका कागजी प्रक्रियाहरुकाबारेमा समेत परामर्श दिईएको थियो । अनुगमनकाक्रममा देखिएका कमि कमजोरीहरुलाई आगामी दिनमा सुधार गरेर मात्रै सामन बिक्री गर्न निर्देशन दिएको थियो ।
समय समयमा हुने अनुगमनले उद्योगी ब्यापारी तथा उपभोक्ताहरु सचेत हुने क्रम बढ्दै गएको वालिङ नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायणप्रसाद रेग्मीले बताउनुभयो । ब्यापारी तथा उपभोक्ताहरु सचेत हुँदै गएकाले अनुगमन प्रभावकारी हुँदै गएको दावी उहाँको छ ।