तोलाकान्त बगाले
वालिङ, १३ कात्तिक ।
द ब्रदर्शले वालिङ नगरपालिकाका महिला फुटबल टिमलाई सम्मान तथा खेल सामग्री हस्तान्तरण गरेको छ । वालिङ खेलमैदानमा मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा खेल सामग्री हस्तान्तरण गरेको हो । वालिङ नगरपालिकाको प्रतिनिधित्व गर्दै महिला राष्ट्रिय फुटबल लिगमा दोस्रो चरणमा प्रवेश गरेकोमा खेलाडीहरुलाई सम्मान गर्नुकासाथै खेल सामग्री हस्तान्तरण गरेको हो ।
सम्मान कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले महिला राष्ट्रिय लिगमा वालिङले अहिलेसम्म उत्कृष्ट लयमा रहेर खेल प्रस्तुत गरेकोमा खुसी ब्यक्त गर्दै उपाधि चुम्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । वालिङमा खेल क्षेत्रको संभावना रहेकाले यसलाई महत्व दिएर सक्षम र ब्यवसायिक खेलाडी उत्पादनकालागि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष सुनिल खनालले खेलाडीहरुले वालिङको गरिमालाई उचाईमा पु¥याएकोप्रति आभार ब्यक्त गर्दै आगामी प्रतियोगिताको सफलताकालागि शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक दिलीप थापा, द ब्रदर्शका अध्यक्ष सागर थापा लगायतले बधाई तथा शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । द ब्रदर्शले गत महिना जिल्ला ब्यापी फुटसल प्रतियोगिताको आयोजना गरी वचत भएको रकमबाट महिला खेलाडीलाई सम्मान र खेल सामग्री हस्तान्तरण गरेको हो । विगतका वर्षहरुमा पनि वालिङका सामुदायिक विद्यालयमा सेनेटरी प्याड तथा औषधि बक्सहरु उपलब्ध गराएको द ब्रदर्शका सचिव रञ्जित पौडेलले बताउनुभयो । ‘परिवर्तनकालागि फरक सोंचाई’ भन्ने मुल नारासहित स्थापना भएको द ब्रदर्शले वर्षेनी फरक फरक विधामा रचनात्मक कार्यहरु गर्दै आईरहेको छ ।