वालिङ, ९ कार्तिक ।
वालिङमा खुल्ला व्याडमिण्टन तथा फुटसल प्रतियोगिता शुरु गरिएको छ । नवप्रभात युवा क्लब वालिङ ८ विपिचोकको आयोजनामा प्रतियोगिता सुरु गरिएको हो । क्लबको २४औँ वार्शिकोत्सवमा ब्याडमिण्टन तथा फुटसल प्रतियोगिताको आयोजना गरेको हो । शुक्रबार विपिचोकको फुटसलमा प्रतियोगिताको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले क्लबले खेल क्षेत्रको विकासका लागी यस्ता प्रतियोगिता आयोजना गर्नु सराहनी रहेको बताउनुभयो । साथै प्रजिअ नेपालले खेल खेल्नु स्वास्थ्य र समाजका लागी फाईदाजनक रहेको भन्दै यस्तै खेल क्षेत्र र खेलाडिको विकासका लागी स्थानीय तह तथा राज्यका निकायले उचित कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ नगरका निर्वतमान नगर प्रमुख दिलिपप्रताप खांणले खेलले युवालाई अनुशासित बनाउने भन्दै स्थानीय तथा टोल स्तरमा यस्ता प्रतियोगिता समय समयमा आयोजना गनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम क्लबका अध्यक्ष मधुसुदन सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत क्लबका सदस्य प्रविना सुवेदी र संचालन शंकर सुवेदीले गर्नुभएको थियो । शुक्रबार र शनिबार खुल्ला व्याडमिण्टन प्रतियोगिता हुनेछ भने आईतबारदेखि फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगिता १५ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा खुल्ला ब्याडमिण्टनतर्फ प्रथमले २५ हजार ५५५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियले १२ हजार ५५५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र र सेमिफाईनलिष्ट पुरस्कार ५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै भेट्रान्सतर्फ प्रथम, द्धितिय र सेमिफाईनलिष्टले क्रमशः १५ हजार १११, ७ हजार ५५५, २ हजार ५०० नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै फुटसल प्रतियोगितार्फ प्रथम र द्धितियले २० हजार ५५५, १० हजार ५५५ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा व्याडमिण्टनतर्फ खुल्ला र भेट्रान्स गरी ५१ टिम सहभागि छन् ।