वालिङ, ५ कार्तिक ।
स्याङ्जा आईसीसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि विरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाईनल खेलमा पुतलीबजार नगरपालिकालाई पराजित गर्दै विरुवाले उपाधि जितेको हो । विरुवाले पुतलीबजारलाई ३–२ को सेटमा २३–२५, १९–२५, २९–२७, २५–१० र १५–१२ अङ्कले पराजित गरेको होे । स्याङ्जा आईसिसि कपको उपाधिसंगै विरुवाले नगद १ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । पराजयसंगै पुतलीबजार नगरपालिकाले द्धितिय स्थानमा चित्त बुझाउनु परेको छ ।
द्धितिय भएको पुतलीबजार नगरपालिकाले नगद १ लाख र तृतिय भएको भीरकोट नगरपालिकाले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै सान्त्वना कालिगण्डकी भएको छ । भीरकोटले कालीगण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै तृतीय भएको हो। भीरकोटले कालीगण्डकीलाई २५–२२, १६–२५, २५–२१, २२–२५ र १५–११ अङ्कले पराजीत गरेको हो।
सान्वना भएको कालीगण्डकीले २५ हजार नगद र ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले खेल तथा खेलाडिको विकासका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । प्रदेश सरकारले खेल क्षेत्रको स्तरोन्नतिका लागी विभिन्न भौतिक संरचना निर्माणका साथै खेलाडिको दक्षता विकासका लागी समेत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।
प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडी अमृत केसी ( बिरुवा ), उत्कृष्ट स्पाइकर सन्जु बिक्रम शाह ( पुतलीबजार ), उत्कृष्ट सेटर मिलन राना ( बिरुवा ), उत्कृष्ट ब्लकर संजोग परियार ( बिरुवा ), उत्कृष्ट क्वीकर कमल सुनार ( बिरुवा ), उत्कृष्ट सर्भर देवेन्द्र परियार ( पुतलीबजार ), बेस्ट डिफेन्डर जित बहादुर नेपाली ( भीरकोट ) र उदयमान खेलाडी आशिष नेपाली ( पुतलीबजार ) लाई नगदसहित पुरस्कृत गरिएको खेल संयोजक प्रकाश श्रेष्ठले बताउनुभयो
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको समाजका अध्यक्ष विरेन्द्रजंग केसीले बताउनुभयो । प्रतियोगितामा जिल्लाका ११ पालिकाकोे सहभागिता रहेको थियो । साथै प्रतियोगिताको समापनका अवसरमा राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, शिव हमाल, राम्जी खांणलगायतका दर्जन कलाकारले सांगितिक प्रस्तुति राखेका थिए ।