कला राना
वालिङ, १ कार्तिक ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ६ को धु्रवज्योति माविको प्राङ्गणमा सयपत्रि फूल ढकमम्क फुलेका छन् । तिहार नजिकिँदै गर्दा धु्रवज्योति मावि परिसरमा फूलेको सयपत्रि फुलले अझै रौनकता थपेको छ । विद्यालयले लगाएको यो फूलले विद्यालयमा सौन्दर्य त थपिएको छ साथमा आम्दानी पनि भईरहेको छ । कक्षा नर्सरीदेखि १२ सम्म अध्ययन हुँने धु्रवज्योति माविले २०७० सालदेखि तरकारी तथा सामान्य खालको रैथाने फूल भने लगाउँदै आएको थियो ।
विद्यालयमा गरिएको फूलखेतिले वातावरण रमणीय बनाउनुका साथै बालमैत्रि वातावरणको समेत सृजना भएको भन्दै हरियाली एवं फूलमय वातावरणमा विद्यार्थीलाई अध्ययनमा पनि थप लगाव मिल्ने विद्यालयका प्रधानाध्यापक हिराबहादुर गाहाले बताउनुभयो ।
२ वर्षअगाडि विद्यालयले फूल विक्रि गरेर डेढ लाख आम्दानी गरेकोमा गतवर्ष भने पर्याप्त फूल भएका कारण सोँचेजस्तो आम्दानी गर्न नसकेको विद्यालयका प्रअ गाहाले बताउनुभयो । प्रअ गाहाले भन्नुभयो, “गतवर्ष मुस्किलले सस्तोमा १०० रुपैँया प्रतिकेजीका दरले फूलविक्रि गरियो । गतवर्ष जिल्लामा फूल खपत हुँन सकेन, यहीँ प्रयाप्त फुल भएकाले बुटवल लगेर विक्रि गरियो । यो वर्ष भन्ने राम्रै आम्दानी हुने अपेक्षा गरेका छौँ ।”
यो वर्ष विद्यालयले ३ हजार हाईब्रिट अमेरिकन मेरिगोल्ड जातको फूलको बेर्ना उत्पादन गरेकोमा १ हजार विरुवा विक्रि गरेर २ हजार बेर्ना विद्यालय परिसरमै लगाईएको प्रअ गाहाले बताउनुभयो । यो वर्षको पूmल विक्रि शुरु भईसकेको छ । शुक्रबारदेखि वालिङमा शुरु भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको उद्दघाटनका लागी विद्यालयले उत्पादन गरेको फुलको ६० मालाहरु विक्रि गरिएको छ ।
फुलखेतिका लागी विद्यार्थीले विद्यालय शुरु हुन भन्दा पहिलेको समय र विद्यालय छुट्टी भएपछिको समयका साथै खाली पिरेडमा समेत काम गर्दै आएका छन् । यसो गर्दा विद्यार्थीहरुले व्यवहारिक ज्ञान समेत लिने भएकाले विद्यालयको यो कार्यप्रति अभिभावक पनि खुसी छन् । फूल खेतिका लागी गाँउपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ । विद्यालयले फूलको माला प्रतिगोटा १०० मा विक्रि गर्दै आएको छ ।
विद्यालयले फूलखेतिका लागी आवश्यक मल तथा विउको लागी कोषबाट खर्च गर्ने गरेको छ । विद्यालयले अगाडिका वर्षहरुमा तरकारी तथा फूल विक्रिबाट आर्जन गरेको पैसा कोषमा जम्मा गर्दै आएको छ । अहिले पनि फूल विक्रिबाट आएको रकम उक्त कोषमै जम्मा हुने गरेको प्रअ गाहाले बताउनुभयो । विद्यालयका शिक्षक तथा विद्यार्थीको जन्मोत्सवका अवसरमा समेत अर्को छुट्टै कोषमा पैसा जम्मा गर्दै आएका छन् । यसरी जम्मा हुने कोषको पैसाले कक्षामा सजावटलगायतमा खर्च हुँदै आएको छ ।