वालिङ, १ कार्तिक ।
स्याङ्जाको वालिङमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरुभएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङ खेलमैदानमा स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ को शुक्रबार उद्दघाटन गरिएको हो ।
प्रतियोगिताको उद्दघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले यस्ता प्रतियोगिताहरुले खेल प्रतिभा प्रष्फुटन गराउनका लागी सहयोग पुग्ने बताउँदै प्रतियोगिताको सफलताको कामना व्यक्त गर्नुभयो । साथै उहाँले जिल्ला भित्रका खेलाडिहरुको खेल क्षमताको प्रर्दशनका लागी महत्वपुर्ण भुमिका खेल्ने र अन्य खेलका गतिविधिहरु अगाडि पुर्याउन सहयोग पुग्ने बताउनुभयो । उद्दघाटन कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारी, पुर्व सांसद मोहनप्रसाद रेग्मी, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापालगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बीरेन्द्रजंग केसीको सभापतित्वमा सम्पन्न भएको थियो भने खेम काफ्लेले गर्नुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष खगेन्द्र गैह्रेले गर्नुभएको थियो । शुक्रबार उद्दघाटन खेलमा ३ खेलहरु सम्पन्न भएका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकाबीच भएको खेलमा पुतलीबजार नगरपालिकाले जितेको छ भने विरुवा र अर्जुनचौपारी गाउँपालिका बीच भएको खेलमा विरुवा गाउँपालिकाले जित हाँसिल गरेको छ । त्यस्तै तेस्रो खेल चापाकोट नगरपालिका र हरिनास गाउँपालिका बीच भएको थियो ।
प्रतियोगितामा जिल्लाका एघार वटै पालिकाको सहभागिता रहेको छ । सम्बन्धित पालिकाको सिफारिसमा आएका खेलाडीहरुलाई प्रतियोगितामा समावेश गरिएकोे हो ।प्रतियोगितामा प्रथम हुने पालिकाले रु. एक लाख ५० हजार, द्वितीय हुने पालिकाले रु. एक लाख, तृतीय हुने पालिकाले रु. ७५ हजार र सान्त्वना हुने पालिकाले रु. २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भलिबल खेल संयोजक हिमलाल डुम्रेले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट सेटर, डिफेन्डर, सर्भिस, ब्लकर, स्पाईकरलाई जनही ५÷५ हजार पुरस्कार दिने प्रतियोगिताको सहयोगी संस्था वालिङ भलिबल क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताउनुभयो । प्रतियोगितामा अनुमानित आम्दानी कूल १५ लाख ८५ हजार रहेको छ भने सोही बराबर खर्च हुने दावी आयोजकले गरेको छ ।