तोलाकान्त बगाले
वालिङ, १३ असोज ।
नेपाल सरकारका नव नियुक्त मुख्य सचिव एकनारायण अर्यालले विकास निर्माणमा राजनीति हुन नहुने बताउनुभएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको आयोजनामा स्याङ्जा जिल्लाबासीकोतर्फबाट आज स्याङ्जाको वालिङमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले विकास निर्माणमा सबैको साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“विकास निर्माणमा सबैको अपनत्व हुने गरी साझा र एकीकृत धारणाहरु बनाएर काम गर्दा सहज हुनुकासाथै दीगो र प्रभावकारी हुन्छ” उहाँले भन्नुभयो, “साझा र एकीकृत योजनाहरुको प्राथमिकीकरणका आधारमा विकासले फड्को मार्दै जाने छ ।” स्याङ्जा जिल्लाका एघार वटै स्थानीय तहहरुले जिल्लाको साझा र एकीकृत योजनाहरु निर्माण गरी मुख्य सचिव अर्याललाई ध्यानाकर्षण गराएका थिए । आँफू पनि स्याङ्जा जिल्लाबासी भएको बताउँदै उहाँले जिल्लाबासीले उठाउनुभएका साझा र एकीकृत मागहरुकाबारेमा सम्बोधनकालागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सोही कार्यक्रममा मुख्य सचिव अर्यालले कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्ना सेवाग्राहीलाई दत्तचित्त भएर छिटो छरितो र सहज ढंगले सेवा प्रवाह गर्न पनि निर्देशन दिनुभयो ।
“नागरिकहरु पछिल्लो समय सरकारी सेवा प्रवाहबाट धेरै सन्तुष्ट हुनुहुन्न” उहाँले भन्नुभयो, “कर्मचारीहरुले सेवाग्राहीको भावनालाई बुझेर ऐन तथा कानूनले तोके बमोजिम समयमै सेवा दिनुपर्छ, सेवा प्रवाहमा कञ्जुस्याई गर्नुहुन्न ।”
जनप्रतिनिधि र कर्मचारीप्रति नागरिककको बढ्दै गएको धारणालाई अब दत्तचित्त भएर सेवा प्रवाहकामाध्यमबाट परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । देशमा दैवी विपत्तिले जनधनको ठुलो क्षति भएकोप्रति दुःख ब्यक्त गर्दै उद्दार कार्य जारी रहेको बताउनुभयो । देशमा अविरल वर्षासँगै विभिन्न ठाउँमा भएको जनधनको क्षतिकाकारण स्याङ्जा जिल्लाका विभिन्न ठाउँमा आयोजित कार्यक्रमहरुलाई छोट्याएर उहाँ आज नै काठमाडौं फर्किने तयारीमा हुनुहुन्छ ।