मुख्य सचिव अर्याललाई गृह जिल्लामा सम्मान

0
18
Google search engine

तोलाकान्त बगाले
वालिङ, १३ असोज ।
नेपाल सरकारका नव नियुक्त मुख्य सचिव एकनारायण अर्याललाई आईतबार गृह जिल्ला स्याङ्जामा सम्मान गरिएको छ । निजामति कर्मचारीतर्फको प्रमुख पदमा स्याङ्जा जिल्लाबासी अर्याल नियुक्त भएसँगै जिल्ला समन्वय समितिको आयोजनामा जिल्लाका एघार वटै स्थानीय तह तथा विभिन्न संघ संस्थाले सामूहिकरुपमा सम्मान तथा बधाई ज्ञापन गरेका हुन् ।

Google search engine

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १० जैंसीडाँडामा जन्मिनुभएका अर्याल नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएसँगै स्याङ्जाबासीले सम्मान तथा बधाई ज्ञापन गरेका हुन् । जिल्लास्थित एघार स्थानीय तह सरकारी तथा निजी संघ संस्थाहरुले सम्मान पत्र प्रदान गरेका हुन् । मुख्य सचिव अर्याललाई सम्मान तथा बधाई ज्ञापन गर्दै स्याङ्जाबासीले जिल्लाको एकीकृत र साझा योजनाहरु समेटिएको ज्ञापन पत्र बुझाएका छन् । स्याङ्जाका एघार वटै स्थानीय तहले जिल्लाको विकास निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने एकीकृत र साझा योजनाहरुलाई समेटेर तयार पारेको ज्ञापन पत्र जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले बुझाउनुभएको हो ।
पूर्वाधार निर्माणतर्फ स्याङ्जा जिल्लालाई बीच भागबाट चिरेको सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति, शालिग्राम कोरिडोर, आँधीखोला, ज्याग्दीखोला कोरिडोर निर्माण, एकसय शैयाको विशेषज्ञसहितको अस्पताल, जिल्लाको धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्वका स्थलहरुको विकासमा पहल गर्न अनुरोध गरिएको जिटीले बताउनुभयो ।

सोही अवसरमा मुख्य सचिव अर्यालले ईलाका प्रशासन कार्यालयको भवन निर्माणकालागि वालिङ ९ सुर्कौंदीमा निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गर्नुभएको थियो ।
ईलाका प्रशासन कार्यालय स्थापना गर्नकालागि वालिङ ९ सुर्कौंदीका स्थानीय ध्रुबराज शर्मा, कपिलदेव शर्मा, खड्कुमारी खाँण, विष्णुप्रसाद पंगेनी र यामकुमारी पंगेनीले निशुल्करुपमा जग्गादान गर्नुभएको थियो ।
बधाई तथा सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सीताकुमारी सुन्दास, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटी, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बधाई तथा सम्मान कार्यक्रम जिल्ला समन्वय समिति स्याङ्जाले आयोजना गरेको थियो भने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ब्यवस्थापन, वालिङ उद्योग वाणिज्य संघको सहयोगमा जिल्लास्थित एघार वटै स्थानीय तहको सह आयोजनामा सम्पन्न भएको हो ।

Google search engine