असोज, १४ ।
वर्षा रोकिएपछि पनि सरकारले उद्धार र राहतको काममा ढिलाइ गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । बीपी राजमार्गमा अलपत्र परेका सबै यात्रुहरुको अझै उद्धार हुन सकेको छैन । बिपी राजमार्गमा मात्रै अझै तीन हजारभन्दा धेरै अलपत्र अवस्थामा रहेका काभ्रे प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी काभ्रेले दिएको जानकारीअनुसार तीमध्ये महिला, बालबालिका, अशक्त र बिरामी गरी झन्डै एक सय ५० जनालाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था छ । हिजो झन्डै दुई सय जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको र आज पनि महिला, बालबालिका र अशक्तलाई प्राथमिकता दिएर उद्धार गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । राजमार्गमा अलपत्र अरू यात्रुलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।
यसैबीच बाढीपहिरो र डुबानबाट ठूलो धनजनको क्षति भएको दुई दिन बितिसक्दा पनि सरकारले एकीकृत राहत प्याकेजको घोषणा गर्न सकेको छैन । सरकारको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले बाढीपहिरोबाट घर गुमाएका पीडितका लागि आवास व्यवस्था गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार मृतकलाई दुई लाख रुपैयाँ दिने र आवासका लागि २५ हजारदेखि ५० हजार रुपैयाँ दिने व्यवस्था कानुनमा नै रहेकाले त्यसैअनुसार राहत वितरण हुनेछ । उद्धार र राहतको काम प्रभावकारी बन्न नसकेको जनगुनासो भइरहँदा सरकारले भने उद्धारमा ढिलासुस्ती नभएको दाबी गरेको छ । बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्धलाई प्राथमिकता दिएर उद्धारको काम भइरहेको सरकारको भनाइ छ ।
यसैबीच बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे छलफल गर्न विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक अहिले बस्दै छ । खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो ।