वालिङ , १३ असोज ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ३ लल्याङ गाउँ यतिबेला शोकमा डुबेको छ । लल्याङका एकै परिवारका तीन जना धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिएर मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको हो । गल्याङ ३ लल्याङ घर भई बुटवलस्थित कालिका माविमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय दिपेश, १५ वर्षीया दिपिका र उनीहरुकी आमा सीता भट्टराईको पहिरोमा पुरिएर मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको गल्याङ ३ का वडा अध्यक्ष एवम् छिमेकी कृष्ण भट्टराईले बताउनुभयो ।
अहिले गाउँको घरमा आफ्ना आफन्त तथा छिमेकीहरुको भीड लागेको छ । गाउँलेहरु चिन्तित छन् भने आफन्तहरु पीडामा मुर्छाएका छन् । बंगलादेशमा हुने नेशनल एस्ट्रोनोमी ओलम्पियारमा भाग लिन जाने क्रममा जुम्ल्याहा छोराछोरी र आमाको बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगरमा शुक्रबार साँझ पुरिएको र शनिबार साँझमात्रै खबर आएको उहाँले बताउनुभयो । बंगलादेश जान हिंडेका उनीहरु अन्ततः झ्याप्ले खोलाको पहिरोमा अस्ताए । बंगलादेश पुग्ने सपना पहिराले पुरेपछि सपना झ्याप्ले खोलाको पहिरामै विलिन हुन पुगेको उहाँले बताउनुभयो ।
“गाउँको घरमा अहिले बुवा बस्दै आउनुभएको थियो” उहाँले भन्नुभयो, “बुहारी तथा नातिनातिनाको दुःखद घटना थाहा पाएपछि बुवा मेघनाथ भट्टराई आज नै काठमाडौंतर्फ जानुभएको छ ।”
पहिरोमा पुरिएर ज्यान गुमाएका जुम्ल्याहा छोराछोरी तथा सीताका श्रीमान् हुमानाथ भट्टराई वैदेशिक रोजगारीमा कोरियामा हुनुहुन्छ । छोराछोरी तथा श्रीमतीको दुःखद खबर थाहा पाउनुभएका भट्टराई केही दिनमा नेपाल आउने तयारीमा रहेको वडा अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । सीता छोराछोरीको पढाईलाई ध्यान दिंदै केही वर्षदेखि बुटवलमा बस्दै आउनुभएको थियो ।