ढुक्क भएर अगाडि बढ्नुहोस् सरकार सँगै छ ः मन्त्री जिसी

0
83
oppo_2
Google search engine

तोलाकान्त बगाले
वालिङ, १० असोज ।
गण्डकी प्रदेशका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसीले किसानको समस्याहरुकाबारेमा सरकार सँगै रहेकाले ढुक्क भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
स्याङ्जाको वालिङ १ त्रियासीस्थित त्रियासी कृषि उपज तथा बजार ब्यवस्थापन सहकारीमा आज आयोजित किसान भेटघाट तथा शीत भण्डार अवलोकनकाक्रममा उहाँले किसानहरुको समस्या समाधानकालागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।
“कृषि क्षेत्र तथा किसानहरुको अवस्था, देखिएका समस्याहरु के के छन्, बुझ्नलाई जिल्ला जिल्लामा पुगिरहेका छौं” उहाँले भन्नुभयो, “स्थलगतरुपमै किसानहरुका समस्याहरुकाबारेमा बुझेपछि मात्रै छलफल गरी आवश्यक निर्णयमा पुग्न सहज हुने छ ।”
आँफू मन्त्री भएर आईसकेपछि कृषिका क्षेत्रमा केही न केही काम गरौं भन्ने सङ्कल्पसहित अगाडि बढेकाले छिट्टै नै उपलब्धी देखिने दावी उहाँको थियो ।

Google search engine
oppo_2

त्रियासी कृषि उपज तथा बजार ब्यवस्थापन सहकारीले त्रियासीमा सञ्चालन गरेको शीत भण्डारमा विद्युत महसुल धेरै भएकाले किसानहरु मर्कामा परेकाले महसुलमा छुट तथा अनुदान दिने नीति सरकारले ल्याउन माग गरेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री जिसीले यस विषयमा आँफू गम्भीर रहेको बताउँदै यसको समाधानका विषयमा छलफल अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
“शीत भण्डार सञ्चालन गर्न विद्युत महसुल चर्को हुँदा किसानलाई मर्का परेको विषयमा म गम्भीर छु” उहाँले भन्नुभयो, “यहाँहरुले उठाउनुभएको माग जायज छ, यो विषयमा छलफल अगाडि बढ्ने छ, पक्कै पनि परिणाम देखिने छ ।”
सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले कृषिजन्य सामग्रीहरु उत्पादनका दृष्टिले उर्बर र पकेट क्षेत्रकोरुपमा पहिचान बनाएको त्रियासीमा रहेको शीत भण्डार सञ्चालनमा समस्या देखिएको बताउनुभयो ।
“शीत भण्डार सञ्चालन गर्नेक्रममा विद्युत महसुल धेरै आउने गरेको छ” उहाँले भन्नुभयो, महसुल धेरै आउँदा प्रत्यक्षरुपमा किसानहरु मर्कामा पर्ने गरेका छन्, यस विषयमा छुट वा अनुदान के हो किसानलाई दिनुपर्छ ।”
मन्त्री जिसीले प्रदेश अन्तर्गत वालिङ १ यवादीस्थित बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आईरहेको कृषि विकास श्रोत केन्द्रको निरीक्षण गर्नुभएको हो । रेशम विकास केन्द्रकोरुपमा २०४२ सालमा स्थापना भएको कार्यालयको पछिल्लो समय कार्य परिवर्तन भएसँगै बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आईरहेको छ । कृषि विकास श्रोत केन्द्रको काम कारवाही परिवर्तन भएसँगै यस कार्यालयबाट प्रदान गरिएका सेवा प्रवाहहरुकाबारेमा उहाँले जानकारी लिनुभएको थियो । किम्बु बगैँचा नष्ट गरी बीउ उत्पादन थालिएको क्षेत्रको पनि उहाँले निरीक्षण गर्नुभएको थियो । कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरुकाबारेमा जानकारी लिंदै आगामी दिनमा थप ब्यवस्थित बनाउनकालागि प्रदेश सरकारले आवश्यक नीति तथा बजेट ब्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
कार्यालय परिसरमा रहेको किम्बु बगैँंचा नष्ट गरी पछिल्ला वर्षहरुमा कार्यालयले धान, मकै, आलु लगायतका बीउ उत्पादन गर्ने, उत्पादित बीउको प्रशोधन तथा भण्डारण गरी कृषकलाई उपलब्ध गराउँदै आएको छ । मन्त्री जिसीसहित कृषि महानिर्देशक बासुदेव रेग्मी, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमाललगायतले स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणमा आउनुभएका टोलीलाई श्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीले कार्यालयको कार्य प्रगति तथा कार्यालयले प्रवाह गर्ने सेवाहरुकाबारेमा जानकारी गराउनुभएको थियो ।

Google search engine