वालिङ, ६ असोज ।
वालिङ नगरपालिकाको आयोजनामा आईतबार वालिङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दलहरु, उद्योगी ब्यापारी तथा सञ्चारकर्मीहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । स्याङ्जा जिल्लाबाट निजामति कर्मचारीको उच्चतम पद नेपाल सरकारको मुख्य सचिवमा नियुक्ति हुनुभएका स्याङ्जाका एकनारायण अर्यालको नागरिक अभिनन्दन गर्ने साथै ईलाका प्रशासन कार्यालय वालिङलाई निशुल्क जग्गा उपलब्ध गराउनुभएका जग्गाधनीहरुलाई सम्मान गर्नकालागि पूर्व तयारीकालागि अन्तरक्रिया गरिएको हो ।
स्याङ्जा जिल्लाले मुख्य सचिव जस्तो गरिमामय पदमा स्याङ्जाली पाएका बेला जिल्लाको गौरवका विषयहरुकाबारेमा कार्यपत्र पेश गर्ने गरी छलफल भएको हो । मुख्य सचिवलाई स्याङ्जामा स्वागत, अभिनन्दन तथा जिल्लाको विकास निर्माणका सन्दर्भमा सबैको साझा मागका विषयमा अबको बैठकमा छलफल गरिने भएको हो । जिल्ला समन्वय समिति स्याङ्जाको आयोजना तथा जिल्लाका एघार वटै पालिकाहरु सहआयोजक भई वालिङमा कार्यक्रम गरिने करिव करिव टुङ्गोमा पुगेपनि कार्यक्रमको मिति भने एकिन हुन सकेको छैन । संभवत दशंै अगाडि नै कार्यक्रम गर्ने गरी तयारी भईरहेको छ । अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदीले सबै पालिकाको प्रतिनिधित्व हुने गरी मुख्य सचिवलाई मागहरु राखिने र स्वागत तथा सत्कारकालागि ब्यवस्थापन समिति निर्माण गरी अगाडि बढ्ने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कार्यक्रममाथि प्रकाश पार्दै केही समय अघि ईलाका प्रशासन कार्यालय वालिङको भवन उद्घाटनका बेला उठेका गुनासाहरुका विषयमा स्थानीय जग्गादाताहरुसँग अन्तरक्रिया गर्न मुख्य सचिव वालिङ आउने कुरा थियो सोही अनुसार आउने तयारी भएको बताउनुभयो । आयोजक वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले सबै पालिकाले अपनत्व महशुस गरी नागरिक अभिनन्दन कार्यक्रममा आ–आफ्नो ठाउँबाट तयारीकासाथ लाग्नुपर्नेमा जोड दिनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित उद्योग वाणिज्य संघका प्रमुखहरु, सञ्चारकर्मीहरुले आ–आफ्नो सुझाव तथा धारणाहरु ब्यक्त गरेका थिए ।