‘घुम्ती ब्यापारी’ ब्यवस्थापन गर्न ब्यवसायीको माग

0
16
Google search engine

वालिङ, ६ असोज ।
स्याङ्जाका उद्योगी ब्यवसायीहरुले घुम्ती ब्यापारीको उचित ब्यवस्थापन गर्न माग गरेका छन् । घुम्ती ब्यापारीकाकारण ब्यवसायीहरु मर्कामा परेको गुनासो बढ्दै गएकाले वालिङ उद्योग वाणिज्य संघको आयोजनामा जिल्लास्थित वाणिज्य संघहरुको सहभागितामा बसेको बैठकले ब्यवस्थापन गर्नुपर्ने माग उद्योगी ब्यापारीहरुले गरेका हुन् ।
नेपाल सरकारको राजस्व सम्बन्धी नियम बमोजिम बिल बिजक जारी नगरी घरदैलो गरी सामन बिक्री वितरण गर्दा ब्यवसायीहरु मर्कामा परेको गुनासो आएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो ।
“स्याङ्जा जिल्लाका विभिन्न बजार क्षेत्रमा कपडा, भाँडावर्तन, गेडागुडी, तरकारी÷फलफूल, माछा, विभिन्न मर्मत सेवा लगायत धेरै किसिमका ब्यापारीहरु घरदैलोमा गई सामन बिक्री गर्छन्” उहाँले भन्नुभयो, “उनीहरुले नेपाल सरकारको राजस्व सम्बन्धी नियम बमोजिमका बिल बिजक जारी गर्दैनन् ।”
बिल बिजक जारी नगरी सामन बिक्री वितरण गर्दा राजस्व छली हुने र कसैलाई सस्तोमा, कसैलाई महंगोमा बिक्री गर्दा उपभोक्ता ठगिने दावी उहाँको छ ।
घुम्ती ब्यापारीले बिल बिजक बिना नै घरदैलोमा पुगेर सामन बिक्री गरिदिंदा बजारमा शटर भाडामा लिएर ब्यवसाय गर्नेहरु मर्कामा परेका हुन् ।
“बजारमा शटर भाडामा लिई नियमानुसारका सबै प्रकारका कर तथा राजस्व बुझाई ब्यवसाय गर्ने ब्यवसायीहरु प्रत्यक्ष मर्कामा परेका छन्” उहाँले भन्नुभयो, “जिल्लाभरका वाणिज्य संघहरुमा ब्यवसायीको ब्यापक गुनासो आएपछि घुम्ती ब्यापारीहरुको ब्यवस्थापनकालागि जिल्लाभित्रका पाँच वटा उद्योग वाणिज्य संघले चासो देखाएको हो ।”
कहीँ कतै पनि दर्ता नभईकन गरिएका घुम्ती ब्यवसायकैकारण ब्यवसायीहरु विस्थापित हुन सक्ने स्थिति आएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले बताउनुभयो ।
“घुम्ती ब्यापारीले सामन पोको पारेर घर दैलोमा गई बिक्री गर्ने तर उनीहरु कहीँ कतै दर्ता हुन नपर्ने, शटर भाडामा लिनु नपर्ने, बिल बिजक जारी नगर्ने, मनपरी मुल्यमा सामन बिक्री गर्ने जस्ता कारणले उपभोक्ताहरु ठगिएका छन्” उहाँले भन्नुभयो ।
विना दर्ता सञ्चालन गरिएका घुम्ती ब्यवसायकाकारण दर्ता गरेर राज्यलाई राजस्व तिरेर सञ्चालन गरेका ब्यवसायीलाई समस्या भएकाले दर्ता विना सञ्चालन भएका ब्यापारीलाई ब्यवस्थापन गर्न आग्रह गरिएको भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश कोईरालाले बताउनुभयो ।
घुम्ती ब्यवसायलाई ब्यवस्थित गरी दर्ता प्रक्रियामा ल्याउन सकेमात्रै राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पर्ने दावी उहाँको छ ।
जिल्ला समन्वय समितिमार्फत जिल्लाका एघार वटै पालिकाहरुसँग समन्वय गरी यस्ता घुम्ती ब्यापारीहरुको निषेध वा उचित ब्यवस्थापन गराउनकालागि पाँच वटै वाणिज्य संघहरुले माग गर्दै आईरहेका छन् ।
स्याङ्जाको पुतलीबजारमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, वालिङ नगरपालिकामा वालिङ उद्योग वाणिज्य संघ, भीरकोट नगरपालिकामा भीरकोट उद्योग वाणिज्य संघ, गल्याङ नगरपालिकामा गल्याङ उद्योग वाणिज्य संघ र चापाकोट नगरपालिकामा चापाकोट उद्योग वाणिज्य संघमा स्थानीय ब्यापारी ब्यवसायीहरु आवद्ध भई ब्यापार ब्यवसाय सञ्चालन गर्दै आईरहेका छन् ।

Google search engine
Google search engine