तोलाकान्त बगाले
वालिङ, ४ असोज ।
स्याङ्जाको गल्याङ नगरपालिका ११ नं वडाले सञ्चालन गरेको ‘श्रम शिविर अभियान’ प्रभावकारी बन्दै गएको छ ।
देशभर नै पछिल्लो समय सामान्य कार्यहरुमा पनि सरकारको मुख ताक्ने परिपाटी नागरिकहरुमा बढ्दै गईरहेका बेला नागरिकलाई नै प्रत्यक्ष सहभागी बनाएसँगै अभियान प्रभावकारी बन्न पुगेको हो ।
वडाभित्रका मुल सडक तथा विभिन्न टोलमा पुग्नकालागि निर्माण गरिएका पक्की तथा कच्ची ग्रामीण सडकहरुको नाली सरसफाई, झाडी तथा बुट्यान सरसफाई, बाटोघाटोमा भएका खाल्डा खुल्डी पुर्ने कार्य श्रम शिविर अभियानमार्फत सञ्चालन गरिएको वडा अध्यक्ष दलबहादुर सिञ्जालीले बताउनुभयो ।
“वडामा विकास निर्माणकालागि पर्याप्त बजेट हुँदैन, स–साना कार्यहरुकालागि नागरिकहरुको साथ लिएर अगाडि बढ्दा दीगो र प्रभावकारी हुने ठान्यौं” उहाँले भन्नुभयो, “वडाका प्रत्येक टोल–टोलबाट नागरिकहरुलाई श्रम शिविर अभियानमा सहभागी हुन आग्रह ग¥यौं, नागरिकले पनि साथ दिनुभएको छ ।”
शनिबारबार थालनी भएको श्रम शिविर अभियान बडादशैंसम्म सञ्चालन हुने भएको हो । शनिबार करादीदेखि खरिपानी, पाण्डे गाउँसम्मको ग्रामीण सडक आसपासको बुट्यान तथा झाडी हटाउने कार्य भएको उहाँले बताउनुभयो ।
“टोल–टोलका नागरिकहरुको प्रत्यक्ष सहभागितामा श्रम शिविर अभियान सञ्चालन गर्छौं” उहाँले भन्नुभयो, “वडामा १० वटा टोलहरु रहेका छन्, प्रत्येक टोलका नागरिकको सहभागितामा आ–आफ्नो टोलभित्रका पक्की, कच्ची ग्रामीण सडक सरसफाई गर्ने, बुट्यान झाडीहरु हटाउने साथै टोल सुधारका क्षेत्रमा निरन्तर गतिविधि सञ्चालन गरिने छ ।”
कतिपय सडकहरुमा सडकको नालीमा सानो ढुङ्गो माटो आएर अड्किदामात्रै पनि पानी सडकबाटै बग्दा सडक खोल्ने, क्षति पुग्ने तर नागरिकले ढुङ्गा नहटाउने प्रवृत्ति देखिने गरेको छ ।
राज्यकोमात्रै भर पर्नुहुन्न, आफ्नो गाउँ ठाउँको विकास निर्माणमा हामी आँफै पनि सहभागी भएर लाग्नुपर्छ भनेर वडाले थालेको श्रम अभियानमा साथ दिएको बज्रे टोल निवासी चन्द्रबहादुर सिञ्जालीले बताउनुभयो ।
“श्रम शिविर अभियान सञ्चालनपछि साच्चिकै नागरिकहरुमा चेतनाको विकास भएको छ, अपनत्व महशुस भएको छ यो नै सबैभन्दा ठुलो उपलब्धी रहेछ” उहाँले भन्नुभयो ।
ग्रामीण सडकका दायाँ बायाँका किनारामा बुट्यान तथा झाडीकाकारण विद्यालय जाने स–साना बालबालिका र अन्य यात्रुहरुमा वन्यजन्तुको त्रास केही हदसम्म हटेर गएको दावी टोलबासीको छ ।
“वर्खाका बेला ग्रामीण सडकमा पहिरो गई साँघुरो हुँदा गाउँमा मान्छे दुःख बिमार हुँदा अस्पताल पु¥याउन पनि मुस्किल भएको थियो” उहाँले भन्नुभयो, “ग्रामीण सडकमा भएका खाल्डाखुल्डी पुर्न तथा सडक किनाराका झाडी तथा बुट्यान हटाएर सरसफाई गरिएसँगै सहज भएको छ ।”
शनिबार पहिलो दिन ३६ जना स्थानीय टोलबासीहरुको सहभागितामा नौ घण्टा बढी वडाले सञ्चालन गरेको श्रम शिविर अभियानमा साथ दिएको उहाँले बताउनुभयो । असोज १ गते अर्थात् आगामी मंगलबार पुनः श्रम शिविर अभियानमा सहभागी हुने तयारी टोलबासीको छ ।
वडाले थालेको श्रम शिविर अभियानमा प्रत्येक टोल–टोलबाट नागरिकहरुको उत्साहजनक सहभागिता रहने संकेत प्राप्त भएको वडा अध्यक्ष सिञ्जालीले बताउनुभयो । बजेटको अभावमा वडाले टोलबासीहरुको प्रत्यक्ष सहभागितामा धेरै कामहरु गर्न सक्ने भएकाले श्रम शिविर अभियान प्रभावकारी हुँदै गएको दावी उहाँको छ ।