वालिङ, २८ भदौ ।
वालिङ बहुमुखी क्याम्पसले स्नातक तह तेस्रो वर्षमा अध्ययनरत २६ विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति वितरण गरेको छ । स्याङ्जाको वालिङमा २०३७ सालमा स्थापना भएको नेपालकै जेठो सामुदायिक क्याम्पस मध्येको वालिङ बहुमुखी क्याम्पसले स्नातक तह तेस्रो वर्ष २०७७ समूहका विद्यार्थीलाई एक लाख १२ हजार ८०० छात्रवृत्ति स्वरुप उपलब्ध गराएको हो ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष केदार काफ्लेले सबैले थाहा पाउने गरी निष्पक्ष ढंगले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । उहाँले निश्चित प्रक्रिया पुरा गरी आएका विद्यार्थीलाई पारदर्शी ढंगले छात्रवृत्ति वितरण गरिएको बताउँदै यसले विद्यार्थीलाई केही हदसम्म भएपनि राहत मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा छात्रवृत्ति वितरण उपसमितिका संयोजक नेत्रप्रसाद पाण्डेले क्याम्पसको विधान अनुसार तहगतरुपमा भर्ना, मासिक शुल्क लगायतका शुल्कबाट सङ्कलन भएको रकमको ५ प्रतिशत हुन आउने रकम छात्रवृत्तिस्वरुप विद्यार्थीलाई उपलब्ध गराएको बताउनुभयो ।
छात्रवृत्ति वितरण कार्यक्रममा सञ्चालक समिति सदस्य पदमप्रसाद पाण्डे, रुक्मागत पौडेल, आनन्द पाठक, क्याम्पस प्रमुख भीमप्रसाद पंगेनी, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा प्रोत्साहन पुग्ने धारणा ब्यक्त गर्नुभएको थियो । छात्रवृत्ति वितरण उपसमितिका संयोजक नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्याम्पसका प्राध्यापक यामबहादुर जिसीले गर्नुभएको थियो ।