वालिङ, २७ भाद्र ।
स्याङ्जामा साउन देखि भदौ २३ सम्म २२३ जना डेङ्गीका संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालयका महामारी तथा रोग नियन्त्रण फोकल पर्सन पृथ्वी लामिछानेका अनुसार साउन १ देखि भदौ २३ गतेसम्मको अवधिमा जिल्लामा २२३ जना डेङ्गी संक्रमित भएका हुन । साउन महिनामा कुल ८२ जना संक्रमित भेटिएका थिए । ११ पालिका रहेको स्याङ्जामा सबै भन्दा धेरै साउन महिनामा चापाकोटमा संक्रमित पुष्टी भएका थिए ।
चापाकोटमा २१ जनामा संक्रमण पुष्टी भएको थियो । त्यस्तै भीरकोटमा १२ जना, वालिङ नगरपालिकामा ७ जना, पुतलीबजार नगरपालिकामा ६ जनामा संक्रमण पुष्टी भएको थियो भने कालीगण्डकी गाउँपालिकामा १२, विरुवा र हरिनास गाउँपालिकामा एक एक जनामा डेङ्गी संक्रमण पुष्टी भएको थियो भने फेँदिखोला, आँधीखोला, अर्जुनचौपारी र गल्याङमा साउन महिनामा संक्रमित भेटिएका थिएनन् । त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा साउन महिनामा २२ जनामा डेङ्गी संक्रमण पुष्टी भएको थियो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार साउन भन्दा भदौ महिनामा डेङ्गी संक्रमित बढेको देखिएको छ । भदौ महिनामा १ देखि २३ गतेको तथ्यांक हेर्ने हो भने यो २३ दिनको अवधिमा १३८ जना संक्रमित पुष्टी भएका छन् । भदौ महिनामा सबै भन्दा धेरै भीरकोटमा संक्रमित पुष्टी भएका छन् ।
भीरकोटमा ३३ जना डेङ्गीका संक्रमित पुष्टी भएका छन् । त्यस्तै वालिङ नगरपालिका २१, चापाकोटमा १३, पुतलीबजारमा ११, गल्याङमा १० जना संक्रमित पुष्टी भएका छन् । त्यस्तै कालिगण्डकी गाउँपालिकामा ११, अर्जुनचौपारीमा ७, हरिनास ५, आँधीखोला र विरुवा गाउँपालिकामा तिन तिन जना डेङ्गीका संक्रमित पुष्टी भएका छन् । त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा परिक्षण गरिएका मध्ये २१ जनामा संक्रमण पुष्टी भएको छ भने भदौ महिनामा फेँदिखोलामा कुनै संक्रमित भेटिएका छैनन् ।
डेङ्गी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्छ । डेङ्गीबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुलको प्रयोग गर्न डाक्टरको सुझाव छ ।