वालिङ, १२ साउन ।
स्याङ्जाको वालिङ ११ अमलेस्थित आँधीखोलाबाट शुक्रबार दिउँसो बेपत्ता भएका युवकको शव फेला परेको छ ।
स्याङ्जाको हरिनास गाउँपालिका वडा नं ५ बसन्तडाँडा घर भई वालिङ ८ मा बस्दै आएका २३ वर्षीय शिव पोख्रेलको शव शनिबार बिहान गल्याङ नगरपालिका ८ गलौंदीस्थित आँधीखोलामा फेला परेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
शुक्रबार दिउँसो १२ः ३० बजेतिर अन्य तीन जना साथीहरुसित आँधीखोलामा पौडी खेल्नेक्रममा पोख्रेल बेपत्ता भएका थिए । उनीसँगै पौडी खेल्न गएका अन्य तीन जनालाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । बेपत्ता भएका पोख्रेलको सशस्त्र प्रहरी, नेपाल प्रहरी, आफन्त तथा स्थानीयले खोजी कार्य जारी राखेका थिए ।
मृतक पोख्रेल वालिङ बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिए । उनी वालिङ ११ गब्देस्थित बालशिक्षा निकेतन आधारभूत विद्यालयमा अध्यापनरत थिए । शवको पोष्टमार्टमकालागि वालिङस्थित ग्रहौं प्राथमिक अस्पतालमा ल्याईएको ग्रहौं प्राथमिक अस्पतालले जनाएको छ ।