वालिङ, ११ साउन ।
नेकपा एमालेका सचिव पद्मा अर्यालले जब मुलुकमा संकट पर्छ तब कांगे्रस र एमाले मिलेर अगाडि बढेको बताउनुभएको छ । ईतिहास हेर्ने हो भने मुलुकमा संकट परेका बेला कांगे्रस र एमालेले नै काँधमा काँध हातमा हात मिलाएर अगाडि बढेको बताउनुभएको हो । शुक्रबार ४६औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाको आयोजनामा आयोजित अन्र्तक्रिया तथा पुस्तक विमोचन कार्यक्रमको उद्दघाटन गर्नुहुँदै पुर्व मन्त्री समेत रहनुभएका सचिव अर्यालले यस्तो बताउनुभएको हो ।
पुष्पालालको स्मृति दिवसका अवसरमा पुष्पलाल र वर्तमान परिस्थिति विषयक अन्र्तक्रियामा सचिव अर्यालले भन्नुभयो,“एमाले र कांगे्रस मिलेर अगाडि बढेका बेला देशले केहि नयाँ प्राप्ती गरेको छ । नयाँ कामहरु भएका छन् । निर्वाचनका बेला देखि प्रमुख प्रतिपक्षी भएका एमाले र कांगे्रस देशमा संकट पर्दा संगै अगाडि बढेका हुन् ।”
निर्वाचनका बेला पुनः आफ्नै ढंगले अगाडि बढ्ने भन्दै मुलुकबाट संकट मोचन गर्नका लागी दूई प्रतिपक्षी दल मिलेर देशलाई नेतृत्व गरेको एमाले सचिव अर्यालले बताउनुभएको हो । पुष्पलालले निर्माण गरेको नेकपा एमाले आज देशको प्रमुख पार्टी भएको भन्दै एमाले सहित अन्य बामपन्थी पार्टीहरु पनि पुष्पलालकै योगदान रहेको उहाँले बताउनुभयो । पुष्पलालको विचार आज पनि ताजै रहेको भन्दै उहाँको विचार र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढेमा कम्युनिष्ट आन्दोलनले सार्थकता प्राप्त गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीको मेरो भुमिगत यात्रा संस्मरणात्मक निबन्ध संग्रह र साहित्यकार अनन्त अर्यालको कालापत्थर कविता संग्रहको समेत विमोचन गरिएको छ । कार्यक्रममा केन्द्रिय अनुशासन आयोगका सदस्य पराजुलीले पुष्पलाल र वर्तमान परिस्थिति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि इ. ओमा शर्माले टिप्पणी गर्नुभएको थियो ।