वालिङ, ११ साउन ।
स्याङ्जाको भीरकोट ४ मा रहेको प्रसिद्ध धार्मिक स्थल छाङछाङ्दी (छायाँक्षेत्र) मन्दिरमा दैनिक महाआरती गरिएको छ । साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ । यसै अवसरमा साउन महिनाभर मन्दिरमा साँझको समयमा दैनिक महाआरती गरिने भएको हो ।
साउन महिना पवित्र महिना भएको र शिव भगवानको स्तोत्रपाठ गरिने महिना भएकाले पनि साउन महिनामा महाआरती गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । महाआरतीमा सहभागि भई पुण्य प्राप्त गर्न अध्यक्ष श्रेष्ठले भक्तजनहरुलाई आग्रह गर्नुभयो । महाआरतीका लागी न्युनतम शुल्क तोकिएको भन्दै आफ्ना पितृहरुको सम्झनामा, शुभ कार्य, जन्मोत्सव लगायतका पवित्र कार्यका लागी भक्तजनहरुले महाआरती गराउन सकिने अध्यक्ष श्रेष्ठको भनाई छ ।
धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको ऐतिहासिक मन्दिर छायाँक्षेत्रमा पहिलो सोमबारदेखि महाआरती शुरु भएको हो । मन्दिरमा २०७५ सालमा पहिलो पटक महाआरती गरिएको थियो भने त्यसपछि यो दोस्रो पटक मन्दिरमा महाआरती गरिएको हो । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । मन्दिरमा मनोकांङ्क्षा पुरा हुने विश्वासले स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, चितवन, कास्की, बाग्लुङ लगायत टाढाटाढाबाट मन्दिर दर्शनका लागी आउने गरेका छन ।