तोलाकान्त बगाले
वालिङ, ८ साउन ।
स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा आत्मनिर्भर बनाउन गाई खरिदमा अनुदान दिएको छ । वालिङ नगरपालिकाले चालु आर्थिक वर्षबाट वालिङ नगरपालिका दूधमा आत्मनिर्भर एवम् अनुदान कार्यान्वयन कार्यविधि २०८० लाई कार्यान्वयन गर्दै ३९ वटा गाई खरिदमा रु. उन्नाईस लाख ३० हजार अनुदान दिएको हो ।
गाईभैंसी पालनको माध्यमबाट रोजगारी सिर्जना गरी वालिङ नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईभैंसी खरिदमा ५० प्रतिशत वा अधिकतम रु. ५० हजारसम्म अनुदान दिईएको वालिङ नगरपालिका पशु सेवा शाखा प्रमुख डा. रोशन बस्यालले बताउनुभयो ।
नगरपालिकाले चालु आर्थिक वर्षकालागि दूधमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत गाई खरिद गर्न रु. ४० लाख बजेट विनियोजन गरेको थियो ।
पालिकाको अधिकतम रु. ५० हजार अनुदान र बाँकी किसानको लागत साझेदारीमा गाई खरिद गरिएको हो ।
दूधमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ३९ वटा उन्नत (जर्सी, होलिस्टिन) गाई खरिद गरिएको हो ।
समूह सहकारीमा आवद्ध भएका १६ जना किसानले गाई खरिदमा अनुदान पाएका हुन् । दूधमा आत्मनिर्भर अभियानमार्फत सामुदायिक वन, चरन क्षेत्र, नीजि बाँझो जमिनहरुमा उन्नत जातको घाँस खेतीको विकास गर्नमा मद्दत पुग्ने उहाँको विश्वास छ ।
दूध संकलन केन्द्र तथा चिस्यान केन्द्रको स्थापना गरी ग्रामीण क्षेत्रमा उत्पादित दूग्धजन्य पदार्थलाई बजारको सुनिश्चितता हुने भएको हो ।
उन्नत गाईभैंसीको स्रोत केन्द्रकोरुपमा स्थापना गरी पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने तयारीमा नगरपालिका रहेको छ ।
“दूधमा आत्मनिर्भर कार्यक्रमभित्रै रहेर दूधको उत्पादन वृद्धि हुँदै जाँदा आवश्यकता अनुसार दूध संकलन केन्द्र स्थापना गरिने छ” उहाँले भन्नुभयो, “दैनिक एकहजार ५ सय लिटर दूध उत्पादन गरी बिक्रीबाट दैनिक रु. एकलाख १२ हजार आम्दानी गर्ने अपेक्षा गरिएको छ ।”
स्थानीयस्तरमै दूध उत्पादन वृद्धि गर्ने र बाहिरबाट आईरहेको दूधलाई विस्थापन गरी यहाँका किसानको आर्थिकस्तर उकास्नमा यसले महत्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।
किसानालाई गाई खरिदमा अनुदानसँगै गाईभैंसीपालनसम्बन्धी तालिम, खरिद गरिएका गाईको बीमा नगरपालिकाले गरिदिएको हो ।
विनियोजित बजेटबाट अझै धेरै गाई खरिदमा अनुदान दिन सकिने हुँदा हुँदैपनि कार्यविधिले तोकेको मापदण्ड अनुसार प्रक्रिया नपुगेकाले अनुदान नदिईएको उहाँले बताउनुभयो ।