वालिङ, ७ साउन ।
वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०८०÷०८१ मा अपाङ्गताका क्षेत्रमा भए गरेका कार्यहरुको समीक्षा गरिएको छ ।
सोमबार वालिङ नगरपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, स्याङ्जा अपाङ्ग समाज, नगरस्तरीय अपाङ्ग सञ्जाल र पैरवी समूहको संयुक्त बैठकले गत आर्थिक वर्षमा भएका कार्य प्रगतिकाबारेमा समीक्षा गर्दै चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमकाबारेमा छलफल भएको थियो ।
कार्यक्रममा कार्यवहाक नगर प्रमुख एवम् नगर प्रवक्ता पदमराज गुरुङले आर्थिक वर्षको अन्तमा मात्रै नभई समयावधिभित्रै योजनाको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले अपाङ्गताका क्षेत्रमा नगरपालिकाले नमूना कामहरु गर्दै आईरहेको र आगामी दिनमा पनि समन्वय गर्दै थप कामहरु अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष एवम् वालिङ नगरस्तरीय पैरवी समूहका संयोजक राम शर्मा पोख्रेललगायतले आ–आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।
सोमबार नै स्याङ्जा अपाङ्ग समाजले अपाङ्गता भएका ब्यक्तिहरुकालागि अध्ययन गर्ने पुस्तकहरु नगरपालिकालाई हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष पोख्रेलले कार्यवाहक नगर प्रमुख गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शर्मामार्फत नगरपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।
अपाङ्गताका विषयमा लेखिएका कानूनी तथा अन्य अपाङ्गतासम्बन्धी जानकारीमूलक पुस्तकहरु र पुस्तक राख्ने सामग्री प्रदान गरेको हो ।
त्यस्तै सोमबार नै पैरवी समूहको बैठक वालिङमा सम्पन्न भएको छ । वैठकले नगरपालिकाले अपाङ्गताका क्षेत्रमा अगाडि बढाएको नमूना कार्यहरुले सहयोग पुगेको उल्लेख गर्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ । आगामी कार्यक्रम तथा योजनाहरुलाई थप प्रभावकारी तवरले अगाडि बढाउने विषयमा छलफल भएको छ ।