वालिङ, ६ साउन ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ४२ औं स्मृति दिवस आज स्याङ्जामा विविध कार्यक्रम गरी मनाईएको छ । स्याङ्जाका विभिन्न ठाउँमा फरक फरक कार्यक्रम गरी स्मृति दिवस मनाईएको हो । स्याङ्जाको वालिङमा नेपाली कांग्रेस वालिङ ८ को आयोजनामा आज बीपीचोकमा बीपीको शालिकमा माल्यार्पण गरिएको हो ।
बीपीको शालिकमा माल्यार्पण गर्नुहुँदै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले महामानव बीपी कोईरालाको नीति तथा सिद्धान्त अझै पनि ताजै रहेको र देश तथा विदेशमा बीपीको सिद्धान्तहरु कार्यान्वयन भईरहेको बताउनुभयो ।
बीपीको मेलमिलाप नीति अन्तराष्ट्रिय स्तरमा समेत कार्यान्वयन भएको भन्दै नेपाली कांगे्रसले बीपीको सिद्धान्त भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् कांग्रेस नेता भोजराज अर्याल, कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँणलगायत नेता कार्यकर्ताहरुले बीपीको आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । वडा नं. ८ का सभापति कमलप्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व नगर सचिव भुपराज बगालेले गर्नुभएको थियो ।