वालिङ, २९ असार ।
सामाजिक विकास कार्यालय स्याङ्जाले चालु आर्थिक वर्ष २०८०÷०८१ को खर्च सार्वजनिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम गरेको छ । स्याङ्जा सदरमुकामस्थित प्रगतिनगरमा रहेको कार्यालयमा शुक्रबार मिडियासँग सामाजिक विकास कार्यक्रम अन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक वर्ष २०८०÷०८१ को खर्च सार्वजनिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम गरेको हो ।
कार्यक्रममा कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीले चालु आर्थिक वर्ष २०८०÷०८१ कालागि यस कार्यालयले कूल रु. तीन करोड ८९ लाख २८ हजार बजेट रहेको बताउनुभयो । सो अवसरमा यस कार्यालयमा ४५ वटा योजनाहरु छनोट भई कार्यान्वयनकालागि आएकामा ३९ योजनाहरु सम्पन्न भएको उहाँले बताउनुभयो ।
सीमित स्रोत साधन र थोरै जनशक्तिका बाबजुत पनि तोकिएको समयमा धेरैभन्दा धेरै भौतिक प्रगति गर्न सफल भएको उहाँको दावी थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले कार्यालय गरेका राम्रा कामहरुलाई बाहिर ल्याउनु आवश्यक रहेकाले यसमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेलिदिन आग्रह गर्नुभयो ।
कार्यालयले कार्य सम्पादन गर्नेक्रममा भएका त्रुटि कमिकमजोरीहरुलाई सुधार गर्ने अवसरकोरुपमा पनि औंल्याउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले कार्यालयले वर्षभरीमा गरेका कार्यकाबारेमा जानकारी गराएको धन्यवाद ज्ञापन गर्दै यसलाई बाहिर ल्याउन स्याङ्जाका सञ्चारकर्मीहरुले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।