तोलाकान्त बगाले
वालिङ, २९ असार ।
यहाँका युवाहरु वातावरण संरक्षण अभियानमा जुटेका छन् । स्याङ्जाको वालिङ ८ विपीचोकमा रहेको नवप्रभात युवाक्लबले वातावरण संरक्षणमा जोड दिंदै सडक किनार र पार्कमा वृक्षारोपण गरेको हो ।
नवप्रभात युवाक्लबको अगुवाईमा शनिबार वालिङ ८ को डुम्रीकोटदेखि भित्री रिङरोडको नेपाल आदर्श क्याम्पससम्मको सडकको दुवै किनारामा विभिन्न प्रजातिका विरुवा रोपिएको क्लबका अध्यक्ष मधुसुदन सुवेदीले बताउनुभयो ।
“केही समयअघि क्लबकै अगुवाईमा बस्ती नजिकै रहेका ठूला रुखहरु कटानी छटानी गरेका थियौं” उहाँले भन्नुभयो, “ठूला रुखहरु कटानी छटानी गरेका ठाउँहरुमा स–साना प्रजातिका पर्यावरणलाई मध्यनजर गर्दै बिरुवाहरु लगाएका हौं ।”
क्लबले अगाडि सारेको अभियानमा स्थानीयबासीहरुले साथ र सहयोग गरेकाले क्लबले थालेको अभियान सफल भएको बुझाई उहाँको छ ।
सडकका दुबै किनारमा लगाईएका विभिन्न प्रजातिका बिरुवाहरुको संरक्षणमा पनि क्लबले ध्यान दिने उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालय स्याङ्जा र ८ नं वडा कार्यालयको सहयोगमा बिरुवाहरु ल्याईएको हो ।
बिरुवाकालागि आवश्यक मलखाद सहयोग वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गरेको थियो भने नेपाल आदर्श क्याम्पसले बिरुवाको संरक्षणकालागि तारजालीको ब्यवस्थापन गर्ने भएको छ ।
वृक्षारोपण कार्यमा क्लबका पदाधिकारी तथा सदस्यहरु, बिपी चोक र ढावखोला टोलका स्थानीयहरुसहित सशस्त्र प्रहरी बल ३० नं गुल्मले जनशक्ति सहयोग गरेको थियो ।
अशोका, गुलमोहर, कपुर, दालचिनी, टिमुर, पारिजात, धुपी लगायतका बिरुवाहरु रोपिएको क्लबका सचिव खडानन्द बगालेले बताउनुभयो । भित्री सडकसहित पार्क तथा सशस्त्र प्रहरीको कार्यालय र रेडियो आँधीखोला जाने सडकमा वृक्षारोपण गरिएको हो ।