वालिङ, २२ असार ।
स्याङ्जाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर मृत्यु हुनेहरुमा बिरुवा गाउँपालिका ६ माझकोट बस्ने ६७ वर्षीया हरिमाया शर्मा, सोही ठाउँ बस्ने ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले बताउनुभयो ।
माधव शर्मा र गुईश्वरी शर्मा मरासिनी दम्पत्ति हुन् भने हरिमाया शर्मा छिमेकी हुन् । उनीहरु बिरुवा गाउँपालिका ६ माझकोटस्थित आ–आफ्नै घरमा बस्दै आएका थिए । बिहान घरभन्दा झण्डै तीनसय मिटरमाथिबाट पहिरो खसेपछि भागेर ज्यान बचाउन सफल भएका थिए । आफ्नो घरमा बसेका बेला घरमाथिबाट पहिरो खसेर बस्न जोखिम भएपछि स्थानीय ईश्वरी लम्सालको घरमा लगेर राखिएको बिरुवा गाउँपालिका ६ का वडाअध्यक्ष कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । सुरक्षित स्थान भनेर लगेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा तीन जनाको मृत्यु भएको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
एकपटक भागेर ज्यान बचाउन सफल भएपनि दोस्रोपटक पहिरोले पुरेरै छाड्यो । उक्त घटनामा सामान्य घाईते भएका पाँच जनाको स्थानीयवासी र बिरुवा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उद्दार गरेको थियो ।
यस्तै स्याङ्जाको भीरकोटमा पहिरोमा पुरिएर वृद्धा बेपत्ता हुनुभएको छ । भीरकोट नगरपालिका ५ मल्लगाउँमा शनिबार दिउँसो घरमाथिबाट आएको पहिराले पुरिएर सोही ठाउँकी ७२ वर्षीया ख्यामकुमारी मल्ल बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घरमा सासु बुहारी बस्दै आउनुभएको थियो । घरलाई पहिराले पुर्दापुर्दै बुहारी रीता मल्ल भागेर ज्यान जोगाउन सफल हुनुभएको थियो ।
सोही पहिराले मल्लको घर पुरेसँगै घरमुनी रहेको स्थानीय टोपबहादुर मल्लको गोठमा रहेको भैंसी पुरिएर मरेको छ । पहिरो ठुलो भएकाले उद्दार तथा खोजीकार्यमा कठिनाई भईरहेको उहाँले बताउनुभयो । पहिराको प्रकृति हेर्दा जीवितै उद्दार गर्न सकिने संभावना अत्यन्तै न्यून रहेको स्थानीयले बताएका छन् ।
पहिरो ठुलो भएकाले खनेर खोजी गर्न कठिनाई भएको र घटनास्थलसम्म स्काभेटर पु¥याउन ठाउँ ठाउँमा पहिरो गई बाटो अवरुद्ध भईरहेको उहाँले बताउनुभयो ।
पहिराले अहिले मल्ल गाउँ उच्च जोखिममा छ । पहिराभन्दा मुनी रहेका चार घरका स्थानीयहरु त्रसित छन् ।
यसैबीच स्याङ्जाको आँधीखोला गाउँपालिका ४ सेपतस्थित आँधीखोला किनारमा शनिबार साँझ शव फेला परेको छ । आँधीखोलाले बगाएर ल्याएको अवस्थामा पर्वतको फलेबास नगरपालिका १ बस्ने ४० वर्षीय झलक पौडेलको शव भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।