वालिङ, २२ असार ।
अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीकाकारण विद्युत सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा क्षति पु¥याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।
आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी संकलन पोखरीमा ढुंगा, गिटी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताउनुभयो ।
“खोलामा पानीको सतह बढीरहेकाले अहिले पानी संकलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन” उहाँले भन्नुभयो, “खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेरमात्रै टनेलमा पानी पठाउँछौं ।”
गल्याङ तथा आँधीखोलाको माथिल्लो भागमा अहिले पनि भारी वर्षा भईरहेकाले तत्कालै विद्युत सेवा सुचारु गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वि भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाको केही भेग र पर्वतको केही भेगका झण्डै ४० हजार घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको हो ।
स्याङ्जाको वालिङ ६ मिर्दी बजार नजिकै वितरण लाईनको पोल मिर्दी खोलामा आएको बाढीले ढलाएको छ । खोला बढेको र उपकरणसहित मर्मत गर्न जानकालागि समस्या भएको उहाँले बताउनुभयो ।
”बाढी र पहिरोकाकारण कहाँ कहाँ कति क्षति भएको छ भनी खोजी रहेका छौं” उहाँले भन्नुभयो, “कार्यालयलाई जानकारी आएका र थाहा पाईएका ठाउँहरुमा मर्मत भईसकेका र केही हुने क्रममा छन्, क्षतिको पूर्ण जानकारी नआएकाले विद्युत सुचारु गर्न समय लाग्ने देखिन्छ ।”
मर्मतकालागि प्राविधिक र उपकरणहरु तयारी अवस्थामा भएपनि ठाउँ ठाउँमा सडक अवरुद्ध भएकाले पनि कठिनाई भईरहेको उहाँको भनाई छ । लामो समयदेखि विद्युत सेवा नहुँदा नागरिकहरुलाई सास्ती भएको छ ।