वालिङ, २२ असार ।
अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गका विभिन्न ठाउँहरु अवरुद्ध भएका छन् । बिहीबार रातिदेखि निरन्तर आईरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरो गई अवरुद्ध भएको हो ।
स्याङ्जा जिल्ला भएर जाने राजमार्गका स्याङ्जा–वालिङ सडकको भीरकोट ४ छाङ्छाङ्दी नजिकै आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो ।
यसवर्ष जिल्लामा भारी वर्षा भईरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ ८ ओम शान्ति, वालिङ–१०को मोदिखोलामा तथा गल्याङको वडा नं ८ चिउरी र ११क मुडकिल्ला लगायत स्थानमा पहिरको कारण राजमार्ग पुर्ण रुपमा अवरोध भइरहेको प्रवक्ता रानाले जानकारी दिनुभयो ।
वर्षा निरन्तर र भारीमात्रामा भईरहेकाले सडक सुचारु गर्न कठिनाई भईरहेको छ । सडक सुचारु गर्ने कार्यका लागी प्रहरी टोली खटि राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भईरहेको उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन ।
सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रहरुमा जाने अन्य सहायक मार्गहरुमा पनि अविरल वर्षासँगै पहिरो आएकाले यातायात अवरुद्ध भएको छ ।