वालिङ, ५ असार ।
स्याङ्जाको वालिङ १० मा कुमाल्दी खानेपानी योजना सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको रु. १५ लाखको लागतमा ट्याङ्कीसहितको धारा निर्माण गरी सञ्चालनमा ल्याईएको हो । खानेपानी योजनाको आज गण्डकी प्रदेशका निवर्तमान उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री सरस्वती अर्याल तिवारीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले यस क्षेत्रको ऐतिहासिक तथा पुरानो धारा र मुलको संरक्षणकालागि योजना सञ्चालन गरिएको बताउनुभयो । उहाँले पुरानो मुल तथा धारालाई ब्यवस्थित गर्दै अगाडि बढेकाले अब यसको संरक्षण र रेखदेखमा स्थानीयले चासो दिनुपर्नेमा जोड दिनुभयो । उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा आँफू रहेका बेला बजेट विनियोजन गरी धारा तथा मुल संरक्षण कार्य अगाडि बढाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«े, वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, पूर्व नगर प्रमुख लालचन्द्र गैह«े, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिना, नेपाली काँग्रेस क्षेत्र नं. २ (१) का सभापति अर्जुनप्रसाद खनाल, नेपाली काँग्रेस नगर सभापति नेत्रप्रसाद पाण्डे, वडा नं. ९ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ, कुमाल समाज नेपालका जिल्ला अध्यक्ष धनबहादुर कुमाल, कुमाल समाज वालिङका अध्यक्ष भानबहादुर कुमाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यसअघि निर्माण भएको धारा तथा ट्याङ्की पुरानो भई खानेपानीको प्रयोगमा समस्या देखिएको थियो । खानेपानीलाई ब्यवस्थित र उपभोक्ताको सहजताकालागि ट्याङ्की तथा धारा निर्माण गरिएको हो ।