कला राना
वालिङ, ४ जेठ ।
स्याङ्जाको वालिङ नगरपालिकाका र धनुशाको मिथिला नगरपालिका न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई आदाप्रदान कार्यक्रम सम्पन्न भएको छ । वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका कार्यसम्पादनको विषयमा मिथिला नगरपालिकाका न्यायिक समिति र मेलमिलाप संयोजक तथा कर्ताहरु अवलोकन भ्रमणका लागी यहाँ आएका हुन् । अवलोकन भ्रमण टोलीले यहाका वडाहरुमा रहेका मेलमिलाप केन्द्रहरुको समेत अवलोकन गरेको छ ।
वडा नं. १, २, ५, ७, ८ र ९ मा रहेका मेलमिलाप केन्द्रहरुको अवलोकन गरी दिउँसो सुभम पार्टी प्यालेसमा वालिङका न्यायिक समिति, वडा अध्यक्षहरु, मेलमिलाप संयोजकहरु, कार्यपालिका सदस्यहरुबीच अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा नगरप्रमुख कृष्ण खांणले वालिङमा न्यायिक क्षेत्रमा भएको असल अभ्यासको विषयमा जानकारी लिने उद्देश्यले मिथिलाले वालिङलाई रोजेकोमा धन्यवाद व्यक्त गर्नुभयो । पालिकाहरुले आँफूले गरेका असल अभ्यासका विषयमा एकआपसमा सिकाई आदानप्रदान गर्दा थप प्रभावकारी हुने भएकाले यस्ता गतिविधिलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयोे ।
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले वालिङले अहिलेसम्म गरेका न्यायिक सम्पादनका विषयमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । १४ वटा वडा रहेको वालिङमा १०१ मेलमिलाप कर्ताहरु रहेको भन्दै उक्त मेलमिलाप कर्ताहरु सम्पुर्ण वर्ग, समुदाय र लिंगलाई प्रतिनिधित्व रहेको उपप्रमुख तिवारीले बताउनुभयो । कानुनी साक्षरता समुदायदेवि विद्यालयस्तरसम्म पुर्याईएको भन्दै हरेक महिनाको २८ गते मेलमिलाप समिति र वडा वडाका मेलमिलापकर्ताहरुको बैठक बसी समग्र वडाको न्यायिक कार्यसम्पादनका विषयमा छलफल गर्ने गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकामा कानुन साखा मार्फत ईजलासबाट नै हरेक महिनाको सोमबार र बुधबार न्याय सम्पादन गर्ने गरिएको उहाँले बताउनुभयो । मेयरसंग जेष्ठ नागरिक सम्मान कार्यक्रम, नगरलाई मासु, दुध र तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अगाडि बढेको भन्दै आगामी वर्ष पर्यटन वर्षको रुपमा अगाडि बढिने समेत आफ्नो प्रस्तुतिका क्रममा जानकारी गराउनुभएको थियो ।
विद्यालयमा नर्स, नगरकी छोरी, महिलामैत्रि टोल विकास संस्थाहरु गठन गरि कार्य गरिएको समेत उपप्रमुख तिवारीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा मिथिला नगरपालिका उपप्रमुख सुनिता सिंह बुढाथोकीले पनि आफ्नो नगरपालिकामा भएका न्यायिक सम्पादनका विषयमा प्रस्तुति राख्नुभएको थियो ।
भौगोलिक वनावटका आधारमा मुद्धाका प्रकृतिक समेत फरक फरक रहेको भन्दै मिथिलामा लेनदेन, मिटर व्याज, साँदसिमाना, दाईजो प्रथा, बालविवाहलगायतका घटनाहरु बढी आउने गरेको उपप्रमुख बुढाथोकीले बताउनुभयो । कार्यक्रम नगरप्रमुख कृष्ण खांणको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा र संचालन स्वास्थ्य साखा प्रमुख कमलप्रसाद पाण्डेले गर्नुभएको थियो ।
कार्यक्रममा द एसिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पुर्ण परियार, वालिङ नगरपालिका मेलमिलाप संयोजकहरुको तर्फबाट वडा नं. ७ का मेलमिलाप संयोजक भोजराज गुरुङ, मिथिला नगरपालिकाको तर्फबाट मेलमिलाप संयोजक मिनबहादुर सेन्चुरीलगायतले आफ्ना अनुभव आदानप्रदान गर्नुभएको थियो ।