वालिङ १५ वैसाख ।
वालिङ नगरपालिका वडा नं. ९ ले महिलाहरुका लागी मादल बजाउने एक हप्ते तालिम प्रदान गरेको छ । महिला शसक्तिकरणको बजेट अन्र्तगत वडाले महिलाहरुको मागका आधारमा यो वर्ष मादल बजाउने तालिम उपलब्ध गराएको हो । तालिमको समापन गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरुलाई सिपयुक्त तालिमहरु प्रदान गरी आर्थिक रुपमा सबल बनाउने नगरको लक्ष्य रहेको बताउनुभयो ।
नगर तथा वडाले प्रदान गरेका सिपयुक्त तालिमहरु लिएपछि व्यवहारमा समेत उर्तानुपर्ने बताउँदै महिलाहरुलाई व्यवसायिक रुपमा थप अगाडि बढाउन नगरपालिका प्रतिवद्ध रहेको उपप्रमुख तिवारीले बताउनुभयो । ५५ जना महिलाहरुको सहभागिता रहेको तालिममा सप्तक संगित वालिङका राजु दर्लामी र तारा गाहाले प्रशिक्षण दिनुभएको ।
महिलाहरुले मादलको विभिन्न ५ ताल कसरी बजाउने भन्ने विषयमा ज्ञान लिएका छन् । महिला लक्षित बजेटबाट गरिएको यो कार्यक्रमले लोकसंस्कृति, कला, परम्परालाई संरक्षण गर्न समेत टेवा पुग्ने वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ अमृतले बताउनुभयो । कार्यक्रममा समाजसेवी बालकृष्ण श्रेष्ठ, सहभागि गंगा अर्यालपंगेनीले समेत आफ्ना भनाई राख्नुभएको थियो ।
विभिन्न २४ आमा समुह, मगर समाज, गुरुङ समाज, नेवार समाजका गरी ५५ जना महिलाहरुको सहभागिता रहेको तालिमबाट महिलाहरुले लोक बाजा मादल बजाउन सिकेका हुन् । बढ्दो सूचना र प्रविधिका कारण परम्परागत बाजा, लोक बाजाहरुको प्रयोग र यसको संरक्षणमा कमी आएको बेला वडाले यो तालिमको आयोजना गरेर निकै सराहनिय कार्य गरेको सहभागि महिलाहरुले बताएका थिए । कार्यक्रम वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।