वालिङ, १६, वैशाख ।
स्याङ्जाको वालिङमा आइतबारदेखी चारदिने राजयोग मेडिटेशन सुरु भएको छ । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताकालागि राजयोग मेडिटेशन सुरु गरिएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय वालिङ शाखाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा वालिङ ८ स्थित रेडपिपर पार्टी प्यालेसमा मेडिटेशन सुरु भएको हो ।
राजयोग मेडिटेशनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले मेडिटेशनले मानिसलाई तनावबाट मुक्ति दिलाउने उर्जा र हौसला प्रदान गर्नुकासाथै सकारात्मक सोंचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जीवनमा अकल्पनीय परिस्थिति सिर्जना भईहाले पनि राजयोगबाट मुक्ति पाईने भएकाले अहिलेको समयमा यो अपरिहार्य बन्दै गएको उहाँले बताउनुभयो ।
“वालिङ नगरभित्र यस्तो प्रशिक्षणको आवश्यकता रहेको हामीले महशुस पनि गरिरहेको थियौं” उहाँले भन्नुभयो, “यसलाई दीगोरुपमा लैजानको निम्ति वालिङ नगरपालिका प्रतिवद्ध छ ।” कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह«े, वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार राजु घले, नेपाल पत्रकार महासंघका स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका अध्यक्ष ब्रम्हाकुमारी परणीता, महासचिव ब्रम्हकुमार शैलेश बराललगायतले राजयोग मेडिटेशन अहिलेको समय परिवेश अनुसार निक्कै आवश्यक र जरुरी रहेको बताउँदै यसलाई सभ्य र भब्य ढंगबाट सफल बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय वालिङका प्रमुख कविता दिदिको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय सहसंचालिका अनु थापा र संचालन ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका क्षेत्रिय सचिव ब्रम्हकुमार शंकर देवकोटाले गर्नुभएको थियो ।
चार दिवसीय प्रशिक्षण कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार राजु घले प्रमुख प्रशिक्षक रहनुहुनेछ । अनेकौं जिम्मेवारीहरुको दवाव, अस्वस्थ र अन्तहिन प्रतिस्पर्धा एवं बदलिंदो परिवेशसँगै सामना गर्नुपर्ने विभिन्न चुनौतिहरु रहेका छन् ।
अतिब्यस्त र तनावग्रस्त हुँदै गएको जीवनशैलीको उपज ब्यक्तिगत, पारिवारिक एवम् ब्यवसायिक समस्याहरुको वैज्ञानिक एवम् आध्यात्मिक विधिद्वारा समाधान गरी आत्मिक सुख, गहन मानसिक शान्ति एवम् आन्तरिक शक्तिको गहन अनुभूति गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । राजयोगलाई समुदायस्तरमा पु¥याउने र दैनिक पन्ध्र सयदेखि दुई हजार जना ब्यक्तिलाई प्रशिक्षण प्रदान गर्ने लक्ष्य आयोजकको छ ।