आयाको सेवा २४ सै घण्टा, सुविधा न्युन

0
825
oppo_2
Google search engine

तोलाकान्त बगाले
वालिङ, २५ चैत ।
वालिङ १४ की शर्मिला ठकुरी विगत पाँच वर्षदेखि बौद्धिक अपाङ्गता स्रोत कक्षाका बालबालिकाको स्याहार सुसारमा ब्यस्त हुनुहुन्छ । वालिङ ९ स्थित भुम्रे माध्यमिक विद्यालयमा रहेको स्रोत कक्षामा अध्ययनरत दश बालबालिकाको स्याहार सुसार, खानपान तथा सरसफाईमा उहाँ निरन्तर खटिंदै आउनुभएको हो ।
अठार वर्ष मुनीका बौद्धिक अपाङ्गता भएका पाँच छात्र र पाँच छात्रा गरी दश जना आवासीयरुपमा स्रोत कक्षामा अध्ययनरत छन् । “स्रोत कक्षामा रहेका सबै बालबालिकाहरुको स्याहार सुसार, खानपान तथा सरसफाईमा दिनरात नभनी खट्नुपर्छ” उहाँले भन्नुभयो, “मेरो सेवा २४ सै घण्टा भएपनि चित्त बुझ्दो पारिश्रमिक नहुँदा चिन्तित छु ।”
दिनरात बौद्धिक अपाङ्गता भएका बालबालिकाको स्याहार सुसारमा खटिंदै आउनुभएकी ठकुरीको पारिश्रमिक हाल पन्ध्र हजार रहेको छ । “दिनरात बालबालिकासँगै स्रोतकक्षामा बस्नपर्ने भएकाले आफ्नो घरको काम गर्न समस्या भएको छ” उहाँले भन्नुभयो, “काम अनुसारको पारिश्रमिक भएन, न त पेन्सन नै आउँछ, धर्मको आधार भयो भन्नी मात्रै हो ।”

Google search engine
oppo_2

पारिश्रमिक चित्त बुझ्दो नभएपछि विद्यालय प्रशासनमा विकल्प खोज्न समेत आग्रह गरेको उहाँले बताउनुभयो । लामो समयदेखि आयाकोरुपमा कार्यरत रहनुभएकाले उहाँमा बालबालिकाको स्याहार सुसार, खानपान तथा सरसफाई कसरी गर्ने भन्ने पूर्ण जानकारी भएको बौद्धिक अपाङ्गता स्रोत केन्द्रका शिक्षक डोलराज बस्यालले बताउनुभयो ।
स्याहारेकोरुपमा कार्यरत रहनुभएकी आयाको पारिश्रमिक न्यून भएकाले वृद्धिकालागि पहल गरिरहेको उहाँले बताउनुभयो । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुकालागि नियमित आवश्यक पर्ने फलफूल, दूध, अण्डा तथ माछा मासु खुवाउनसमेत समस्या भएको उहाँले बताउनुभयो ।
“स्रोत कक्षामा रहेका बालबालिकाहरुकालागि समय समयमा विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले आर्थिक, शैक्षिक सामग्रीहरु, लत्ताकपडा तथा भाँडावर्तनहरु उपलब्ध गराउँदै आउनुभएको छ” उहाँले भन्नुभयो ।
स्रोत कक्षामा रहेका बालबालिकाहरुको खाद्यान्नकालागि समग्रमा मासिकरुपमा चार हजार आउने गरेको छ । स्रोत कक्षामा कार्यरत आयाको मासिक पारिश्रमिक वृद्धि गर्नकालागि वालिङ नगरपालिका कार्यालयसँग समन्वय भएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो ।
“आयाको पारिश्रमिक वृद्धिकालागि विद्यालयमा प्रर्याप्त स्रोत नभएकाले नगरपालिका कार्यालयमा स्रोत ब्यवस्थापनकालागि अनुरोध गरेका छौं” उहाँले भन्नुभयो, “हालसम्म केही पनि निर्णय आएको अवस्था छैन, यस विषयमा चिन्तित छौं र निरन्तर लागिरहेका छौं ।”
स्रोत कक्षामा रहनुभएकी आयाको विषयमा विद्यालयबाट पारिश्रमिक वृद्धिकालागि अनुरोध भई आएकाले अब के कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिने नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

Google search engine