तोलाकान्त बगाले
वालिङ, २६ चैत ।
स्याङ्जाको चापाकोट ८ मा रहेको मणिमुकुन्देश्वर वेद विद्याश्रम गुरुकुल पाठशालाले सत्र वर्षदेखि धनधान्याञ्चल महायज्ञ गर्दै आएको छ । गुरुकुल पाठशालामा अध्ययनरत विद्यार्थीको भोजन ब्यवस्थापन गर्नकालागि सत्र वर्षदेखि वर्षेनी धनधान्याञ्चल महायज्ञ गरी धान सङ्कलन गर्दै आएको हो ।
पाठशालामा अध्ययनरत विद्यार्थी, शिक्षकहरुकालागि दैनिक आवश्यक पर्ने खाद्यान्न महायज्ञबाट सङ्कलन हुँदै आएकाले धान, चामल किन्नु नपर्ने गुरुकुल पाठशाला ब्यवस्थापन समितिका अध्यक्ष नारायण बरालले बताउनुभयो ।
“अठार पुराणमा आधारित रहेर विगत सत्र वर्षदेखि गुरुकुल पाठशाला परिसरमा वर्षेनी धनधान्याञ्चल महायज्ञ गर्दै आएका छौं” अध्यक्ष बरालले भन्नुभयो, “अहिलेसम्म सत्र पटक गरिसक्यौं, आगामी वर्ष अठार पुग्छ, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने योजना बनाउँछौं ।”
प्रत्येक वर्ष महाशिवरात्रि पर्वको अवसर पारेर गरिंदै आएको धनधान्याञ्चल महायज्ञबाट सङ्कलन भएको धान, चामलबाट वर्षदिनलाई सजिलै खाद्यान्न पुग्ने गरेको छ । गुरुकुल पाठशालामा अध्यापनरत र अध्ययनरत शिक्षक विद्यार्थीलाई महायज्ञबाट सङ्कलन भएको धान, चामलले पुग्ने भएपछि सहज भएको अध्यक्ष बराल बताउनुभयो । महायज्ञका अलावा विभिन्न संघ संस्था तथा दानवीरहरुबाट प्राप्त भएको रकम, जिन्सी तथा शैक्षिक सामग्रीबाट पनि गुरुकुल सञ्चालनमा सहज भएको छ ।
केन्द्र, गण्डकी प्रदेश तथा चापाकोट नगरपालिकाको सहयोगमा गुरुकुलमा भौतिक पूर्वाधार निर्माण गरिएको अध्यक्ष बरालले जानकारी दिनुभयो । गुरुकुलमा घेराबार गर्ने तयारीमा ब्यवस्थापन समिति रहेको छ । कालीगण्डकी नदी किनारसम्म जान आउनकालागि निर्माण गरिएको पदमार्गमा प्रवेशद्वार निर्माण गर्ने, गुरुकुल परिसरमा सन्यासीहरुलाई लक्षित गरी कुटी निर्माण गर्ने योजनामा समिति रहेको अध्यक्ष बरालले बताउनुभयो ।
“कालीगण्डकी नदी उत्तर भएर बहेको पवित्र स्थानमा रहेको मणि मकुन्देश्वर क्षेत्र धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय महत्वका दृष्टिले प्रचूर संभावना बोकेको स्थल हो” अध्यक्ष बरालले भन्नुभयो, “यसको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई आकर्षण गर्दै अगाडि बढ्नुपर्ने छ ।”
गुरुकुल पाठशालामा हाल अभिभावकविहीन ८ विद्यार्थीसहित विभिन्न समुदायका २९ जना विद्यार्थी अध्ययनरत छन् । कार्यालय सहायकसहित ६ जना शिक्षकहरु छन् । पाठशालामा स्याङ्जासहित पाल्पा, बाजुरा, मुगु लगायतका जिल्लाबाट विद्यार्थी आवासीयरुपमा रहेका छन् । पाठशालामा २ जना प्रावि स्थायी, एक जना महर्षि फाउण्डेशनबाट, एकजना करार दरवन्दीमा रहेका छन् भने अन्य २ जना स्थानीय स्रोतबाट शिक्षक ब्यवस्थापन गरिएको छ ।
कक्षा ६ देखि १० सम्म सञ्चालन हुँदै आएको गुरुकुलमा नेपाली, अङ्ग्रेजी, गणित र चार सय पूर्णाङ्कको संस्कृत गरी कूल सात सय पूर्णाङ्कका विषयहरु पढाई हुँदै आएको प्रधानाध्यापक जीवन आचार्यले बताउनुभयो ।