कला राना
वालिङ, २६ फागुन ।
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड तथा रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ ले रेडियो वितरण गरेको छ । संस्थाको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अविधेशनको अवसरमा आफ्ना शेयर सदस्यहरुलाई रेडियो वितरण गरेको हो । सञ्चार जगतमा रेडियोको भूमिका अतुलनीय रहेको भन्दै पछिल्लो समय सामाजिक सञ्जालहरुको विकास भईरहेका बेला रेडियोलाई समय सापेक्ष अगाडि बढाउँदै रेडियो सुन्ने बानीको विकास गर्न रेडियो वितरण गरिएको संस्थाले जनाएको छ ।
शनिबार रेडियो भवनमा आयोजित साधारणसभा अधिवेशनको उद्दघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले रेडियोको माध्यमबाट नागरिक सचेत हुँदै देश विदेशमा भईरहेका घटनाक्रमलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको बताउनुभयो ।
२०६३ सालमा स्थापना भएको रेडियो आँधीखोला स्याङ्जामै पहिलो सञ्चार संस्थाकोरुपमा स्थापित भई अहिलेसम्म निरन्तररुपमा नागरिकलाई सुसूचित बनाउँदै आएको सभापति अर्यालले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, नेपाली कांगे्रस जिल्ला कार्यवहाक सभापति केदार काफ्ले, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी नगर सचिव भक्तबहादुर गोतामे, राप्रपा वालिङ नगर अध्यक्ष युक्तप्रसाद तिवारी, रेडियोका निवर्तमान अध्यक्ष धुव्रप्रसाद शर्मा पंगेनी, रेडियोका संस्थापक अध्यक्ष रेशमलाल कोईराला, त्रियासी कृषि उपज तथा बजार ब्यवस्थापन सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्याल, सामाजिक अभियन्ता टिकराज गुरुङ, वडा अध्यक्षहरुको तर्फबाट वालिङ ८ का अध्यक्ष दामोदर तिवारी, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष राधाकृष्ण डुम्रे, उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठ, विद्यालय तथा शैक्षिक संस्थाहरुकोतर्फबाट बालोदय माविका प्रिन्सीपल अमृत अर्याल, सामाजिक संघसंस्थाहरुको तर्फबाट पेखु बाघखोर रेडक्रस उपशाखाका सभापति विष्णुप्रताप खांँण, वालिङ साना शहरी खानेपानीका अध्यक्ष विद्या श्रेष्ठ, सहकारी संस्थाहरुकोतर्फबाट उपकार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, सेयर सदस्य दिनबन्धु पराजुलीलगायतले रेडियोले समाज तथा नागरिकको चेतनास्तरलाई माथि उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद पाण्डेले रेडियोलाई आधुनिक प्रविधियुक्त बनाउन पहल गर्ने, समुदायमा रेडियो कार्यक्रम निर्माण गरी समुदायलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम उत्पादन र प्रसारण गर्दै आईएको भन्दै यस कार्यलाई स्तरोन्नति गर्दै लगिने कर्मचारीको स्थायित्व र वृत्ति विकासका लागि कार्य आरम्भ गर्ने, रेडियोको आर्थिक विकासका लागि केन्द,्र प्रदेश र स्थानीय सरकारसंँग सहकार्य गर्दै लगिने, कर्मचारीको वृत्ति विकासका लागि प्रशिक्षण कार्यक्रम गर्दै कर्मचारीलाई सहजरुपमा काम गर्ने वातावरण सिर्जना गर्नेलगायत कार्यहरु उल्लेखित प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, लेखा समिति संयोजक विमल अर्याल, प्रबन्धक तोलाकान्त बगालेले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, सञ्चालन सदस्य शान्ता थापा र धन्यवाद सदस्य श्रीकृष्ण सिग्देलले गर्नुभएको थियो ।
२०६३ मा संस्था दर्ता गरी २०६४ मंसिर ६ गते जिल्लाकै पहिलो आवाजकोरुपमा रेडियो आँधीखोलाले परीक्षण प्रसारण शुरु गरेको हो । रेडियो अहिले स्याङ्जा सहित, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की सहित गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा १०५.४ मेगाहर्जमा सुन्न सकिन्छ भने वेवसाईट www.radioandhikhola.org र हाम्रो पात्रो एपमा विश्वभर सुन्न सकिन्छ । रेडियो दैनिक १८ घण्टा प्रशारण हुँदै आएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।